भारतबाट घटेर आयो पेट्रोल डिजेलको मूल्य, नेपालमा घटाउने तयारी

हाम्रो सन्देश संवाददाता

४ जेठ, काठमाडौं ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मात्र नयाँ मूल्य भारतबाट आएको जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिजेल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको छ ।

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूचीअनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो । यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा एक अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो ।

भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउने तयारी भएको छ । निगमको बोर्ड बैठकले यस विषयको निर्णय लिने बताइएको छ ।

महिनामा दुई पटक नयाँ मूल्य सूची भारतले पठाउने गर्छ । जसमा १ तारिखमा सबै पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य समायोजन भएर आउँछ । १६ तारिखमा भने पेट्रोल र डिजेलको मात्रै नयाँ मूल्य सूची आउने प्रवक्ता ठाकुरले बताए ।