सभ्यता गिरी

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

दोलखाकी सभ्यता गिरी मुम्बईमा मोडलिङ गर्छिन् । सात वर्षअघि मुम्बई पुगेकी उनी नेपालमा पनि मोडलिङ र फिल्ममा केही गर्न चाहन्छिन् । आफ्नै प्रोडक्सन कम्पनी खोलेर केही म्युजिक भिडियो निर्माण तथा निर्देशन गरेकी उनी फिल्म निर्माणमा पनि लाग्ने योजनामा छिन् ।

मुम्बईमा किशोर–नमित कपुरको एक्टिङ स्टुडियोबाट एक्टिङ क्लास गरेकी सभ्यताले ‘परिचय’ र ‘मदारी’ थिएटर ग्रुपमा रहेर विभिन्न भाषाका ३० भन्दा बढी नाटकमा अभिनय गरेकी छिन् । दूरदर्शनबाट प्रसारण भएको ‘तुम बिन जिया जाए ना’ र कलर्सबाट प्रसारण भएको ‘सावित्री देवी कलेज एन्ड हस्पिटल’ टेलिसिरियलमा उनले अभिनय गरेकी छिन् ।

त्यसै गरी, एपिसोडिक सिरियल ‘सावधान इन्डिया’, ‘सीआईडी’, ‘क्राइम पेट्रोल’ र ‘गुमराह’मा पनि उनले अभिनय गरेकी छिन् । केही हिन्दी तथा पञ्जाबी म्युजिक भिडियोमा समेत काम गरेकी सभ्यताले साउथ इन्डियन फिल्ममा लिड रोलमा अभिनय गरेकी छिन् । ‘राम्रो स्क्रिप्ट र टिम पाए नेपाली फिल्ममा काम गर्ने इच्छा छ,’ उनी भन्छिन, ‘मुम्बईमा सिकेको अभिनय कला नेपाली दर्शकलाई पनि देखाउन चाहन्छु ।’