के तपाईं पनि गर्भ निरोधक चक्की बढी प्रयोग गर्नुहुन्छ ? सावधान यस्तो होला !

हाम्रो सन्देश संवाददाता

आधुनिक समाज आत्मनिर्भर छ । चाहे पुरुष होस् या महिला, उनीहरू आफ्नो व्यक्तिगत जीवन आफ्नै हिसाबले चलाउन चाहन्छन् । बच्चाको आवश्यकता महसुस भएपछि मात्रै बच्चा जन्माउँछन् । आधुनिक विज्ञानले उनीहरूलाई यस्तो सुविधा दिएको छ । विज्ञानको यस युगमा गर्भ निरोधका धेरै उपायहरू उपलब्ध छन्, जसका कारण महिलाहरूले आफ्नो गर्भ रोक्न सक्छन् । यो विशेष गरी कामकाजी महिलाका लागि आवश्यक हुन्छ । एनसीबीआईका अनुसार अमेरिकामा प्रजनन उमेरका २५ प्रतिशत महिलाले आफ्नै इच्छाले गर्भ निरोधक चक्की प्रयोग गर्छन् ।

हाल बजारमा तीन प्रकारका गर्भ निरोधक चक्की उपलब्ध छन् । एउटा एस्ट्रोजेन र प्रोजेस्टेरोनको संयुक्त रूप हो । दोस्रो प्रोजेस्टेरोन मात्र हो र तेस्रो एक्स्टेन्डेट पिल हो । तीन वटा कै काम गर्भ रोक्नु हो तर तरिका भिन्न भिन्न छ । तर के यी चक्की पूर्ण रूपमा सुरक्षित छन् ? के यसका कुनै साइड इफेक्ट छैनन् त ?

औषधीले कसरी असर गर्छ ?

एनसीबीआईका अनुसार ती तीन प्रकारका चक्कीहरूले महिलाको शरीरमा गर्भधारणका लागि जिम्मेवार हर्मोनलाई नियन्त्रण गर्छ । यी चक्कीहरूले अण्डा बनाउने प्रक्रियालाई रोक्छ । यसको मतलब शुक्रकीट र अण्डाको मिलन हुँदैन, जसले गर्दा गर्भ रहँदैन । वास्तवमा, गर्भ निरोधक चक्कीको साइड इफेक्ट जान्नु अघि, यो चक्कीले कसरी काम गर्छ भनेर जान्न महत्त्वपूर्ण छ । महिलाको शरीरमा अण्डा बन्नुभन्दा अघि विभिन्न खालका चिजको निर्माण हुन्छ जुन काम थुप्रै हर्मोनले गर्ने गर्छ । प्रोजेस्ट्रोनको चक्की खाएपछि यसले गोनेडोट्रोपिन रिलिजिङ हर्मोनलाई कम गर्छ जसका कारण फोलिकल्स स्टिमुलेटिङ हर्मोन बन्दैन । यसबाहेक अण्डा बनाउनका लागि अर्को एउटा हर्मोन एलएच पनि बन्दैन । अर्थात्, औषधी खाएपछि शरीरमा विभिन्न खालका हर्मोन बन्न बन्द हुन्छ । अर्थात्, महिलाको शरीरमा जुन प्राकृतिक प्रक्रिया भइरहेको छ, त्यसलाई रोक्ने गरिन्छ । जब प्राकृतिक प्रक्रियालाई रोकिन्छ तब यसको साइड इफेक्ट हुनु स्वाभाविक हो ।

चक्कीका के छन् साइड इफेक्ट

१. महिनावारीको बीचमा रक्तस्राव

मेडिकल न्युज टुडेका अनुसार गर्भ निरोधक औषधीको सबैभन्दा ठुलो साइड इफेक्ट भनेको महिनावारीको बीचमा पनि रक्तस्राव हुन्छ । यद्यपि, यति बेला महिनावारीका बेलामा हुनेजस्तो रक्तस्राव हुँदैन तर हल्का वा खैरो रक्तस्राव भने भइरहन्छ ।

२. वाकवाकी

केही महिलाहरूलाई चक्की खाएपछि वाकवाकीको समस्या हुन सक्छ । यद्यपि यो धेरै समयसम्म हुँदैन, केही समयपछि निको पनि हुनसक्छ ।

३. स्तन कोमल

केही महिलाहरूले गर्भ निरोधक चक्की खाएपछि, विशेष गरी औषधि सुरु गर्दा स्तन कोमल भएको अनुभव गर्छन् । चक्कीले हर्मोन बन्द गराउने र यो स्तनसँग पनि सम्बन्धित भएकाले यसमा कोमलता आउनु स्वाभाविक हो ।

४. टाउको दुखाइ र माइग्रेन

गर्भ निरोधक औषधी खाएपछि केहि महिलालाई बारम्बार टाउको दुख्ने र माइग्रेनको समस्या देखिन सक्छ ।

५. तौल बढ्ने

गर्भ निरोधक चक्कीहरूले वजन बढाउन सक्छ । यद्यपि, यस्तो सबै महिलालाई हुन्छ भन्ने छैन । यो चक्की खाँदा शरीरको पानी धारण गर्ने क्षमता बढ्छ भन्ने गरिन्छ जसलाई ‘वाटर वेट’ पनि भन्ने गरिन्छ ।

६. मुड परिवर्तन

गर्भ निरोधक चक्कीको साइड इफेक्ट मुड र भावनामा परिवर्तनको रूपमा आउँछ । यसले गर्दा अन्य धेरै समस्या पनि निम्त्याउन सक्छ ।

७. महिनावारी महिनैपिच्छे नहुने

केही महिलाको महिनावारी बीचमा रोकिन सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्रै गर्भ निरोधक चक्की प्रयोग गर्नु राम्रो हुन्छ ।