यसकारण लाग्दैन रातमा निद्रा

हाम्रो सन्देश संवाददाता

शरीर र मस्तिष्कको तन्दुरुस्तीका लागि निद्राको प्यार्टन सही हुन आवश्यक छ । निद्रा खराब हुँदा डिप्रेशन, बेचैनी, मोटोपना जस्ता समस्याहरुको सिकार हुने गरिन्छ । हालै भएको एक अध्ययनले निद्रा बिग्रिने कारणहरु पत्ता लगाएका छन् । जसमा तनाव, पैसाको चिन्ता र कोठाको तापक्रम सही नहुनु भएको खुलाएका छन् ।

लगभग २ हजार मानिसहरुमा गरिएको अध्ययनका अनुसार करिब ३८ प्रतिशत मानिसहरु असहज ओछ्यानका कारण पर्याप्त निन्द्रा पुर्याउन पाउँदैनन् । यसैगरी, ३६ प्रतिशत मानिसहरु सँगै सुत्ने व्यक्तिले घुर्ने समस्याका कारण निदाउन पाउँदैनन् । साथै, रातिमा आउने ठूला आवाजहरु, झ्यालबाट आउने उज्यालो, क्याफिन भएको पिउने पदार्थ जस्ता कुराले मानिसको निन्द्रा उडाउँछ ।

यसका साथै, फोनबाट आउने उज्यालोले पनि निद्राको अवस्थालाई डिस्टर्ब गर्छ । सुत्नुअघि फोनमा सामाजिक सञ्जाल चलाउने १४ प्रतिशत, गेम खेल्ने १२ प्रतिशत, पढ्ने १३ प्रतिशत व्यक्तिहरुमा अनिद्राको समस्या अत्यधिक पाइएको थियो । फर्निचर रिटेलर डीएफएसले गरेको अनुसन्धानका अनुसार निन्द्रा नपुगेका व्यक्तिहरुका लागि रातिमा करिब चार घण्टा अतिरिक्त निदाउन आवश्यक छ ।

‘स्लीप अनलिमिटेड’ का क्लिनिकल डाइरेक्टर ‘टिचिङ द वल्र्ड टू स्लीप’ का लेखक डा. डेभिड लिले भने, ‘हामीले महामारीको नतिजाको रुपमा मानिसहरुको रुटिन टाइममा धेरै परिवर्तन देखेका छौँ । त्यसैले धेरै व्यक्तिहरु बेडटाइम रुटिनलाई सन्तुलनमा राख्न संघर्ष गरिरहेका छन् ।

विशेषज्ञहरुले निद्राको कमिले चिन्तित व्यक्तिहरुले आफ्नो बेडरुमलाई फेरि व्यवस्थित गर्न आवश्यक भएको बताएका छन् । अफिसका लागि तयार हुने, पढाइ गर्ने वा इलेक्ट्रिकल डिभाइसको प्रयोगका लागि घरमा अर्को ठाउँ बनाउने, बेड रुम सुत्नका लागि मात्र प्रयोग गर्ने गर्दा यो समस्या कम हुँदै जाने विशेषज्ञहरु बताउँछन् । यसका साथै, हामी सुत्ने म्याट्रेस वा तकियाले पनि निद्राको क्वालिटीमा नराम्रो असर पार्छ । त्यति मात्र होइन घरको आसपास भावनात्मक र भौतिक अवस्थाले पनि निद्रा प्रभावित गर्छ । त्यसैले आरामदायी निद्राका लागि आरामदायी ओछ्यानको आवश्यकता पर्छ ।

अध्ययनका अनुसार तनाव, कोठाको तापक्रम, ओछ्यान, तकिया, पैसाको चिन्ता, धेरै उज्यालो, क्याफिनयुक्त पेयपदार्थ, गाडीको आवाज, कार्यालयको चिन्ता, मद्यपान, मोबाइलको प्रयोग आदिले निद्रालाई असर पार्ने गर्छ ।