ह्रदयघातको जोखिमलाई कसरी भगाउने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

युवा वयमै ह्रदयघात भएका घटनाहरु आजभोलि बृद्धि भएका छन् । मृत्युसम्म हुन सक्ने ह्रदयघातको जोखिमबाट बच्नलाई हामीले खानपान र दैनिक जीवनचर्यामा केही सुधार गर्न जरुरी छ । समयमै सचेत भएमा ह्रदयघातबाट सहजै बच्न सकिन्छ ।

स्वस्थ खानपान

दैनिक भोजनमा हामीले स्वास्थ्यलाई फाइदा पुग्ने खानेकुरा खानुपर्छ । पोषक तत्व भएका ताजा खानाले हामीलाई निरोगी बनाउँछ । दाल, गेडागुडी, ड्राई फुड, हरियो तरकारीलाई आफ्नो दैनिक भोजनको रुपमा अनिवार्य खानु पर्छ ।

यी खानबाट बच्नुहोस्

खराब कोलेस्ट्रोल बढाउने खानहरु टाढै राख्नु पर्छ । कोलेस्ट्रोलले रक्त धमनीलाई साँघुरो बनाएर रक्तसंचारलाई अवरुद्ध बनाउँछ । यसको असर मुटुमा पर्छ र ह्रदयघात हुने जोखिम बढ्छ । कोलेस्ट्रोल बढ्न नदिन बोसोयुक्त खाना, जंक फुड, डिव्वा बन्द खानेकुरा, गुलियो पेय पदार्थ र तेलमा तारेका खानेकुराबाट बच्न जरुरी हुन्छ ।

सक्रिय दिनचर्या

हाम्रो दैनिकी शारिरीक रुपमा सक्रिय हुनु पर्छ । दिनभर सुत्ने र कर्सीमा मात्र बसेर काम गर्ने गर्दा शरीर निस्क्रिय हुन पुग्छ । ज्यादा आरामले स्वास्थ्यमा विपरित प्रभाव पर्छ । त्यसैले दैनिक कम्तीमा आधा घण्टा छिटो–छिटो हिड्ने बानी बसाल्नुहोस् । छिटो–छिटो हिड्दा हिड्नुको पुरा फाइदा लिन सकिन्छ । हिडाइको नाममा खाली पैतला मात्र अघि सारेर हिड्दा लाभ हुँदैन ।

तौलमा ध्यान दिनुहोस्

तौल बृद्धि हुुनु भनेको कोलेस्ट्रोल र ह्रदयघात हुने जाखिम बढ्नु हो । त्यसैले आफ्नो उचाइ र उमेर अनुसारको तौल छ कि छैन भनेर ध्यान दिनु जरुरी हुन्छ । तौल बढेको देखिएमा त्यसलाई घटाउनतर्फ तत्कालै प्रयास थाल्नुपर्छ ।

नियमित स्वास्थ्य परीक्षण

कतिपय रोगको लक्षण तत्कालै देखिँदैन । लक्षण देखिइसक्दा त्यसलाई रोकथाम गर्न ढिला हुन सक्छ । त्यसैले एक वर्षको अन्तरालमा नियमित ‘होल बडी चेकअप’ गराइरहनु पर्छ । सयम–समयमा स्वास्थ्य परीक्षण गर्दा कुनै पनि समस्या भएमा पहिलो चरणमै थाहा लाग्छ र त्यसलाई सहजै निराकरण गर्न सकिन्छ । एजेन्सीको सहयोगमा