सुनको मूल्य ऐतिहासिक रेकर्ड कायम, कति पुग्यो हेर्नुहोस !

हाम्रो सन्देश संवाददाता

५ चैत, काठमाडौं ।

नेपाल सुन तथा चाँदी बजारमा आज(चैत्र ५ गते) आइतबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्यले अघिल्लो रेकर्डलाई पछार्दै नयाँ रेकर्ड बनाएको हो ।

आइतबार एकै दिनमा सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सर्वजनिक गरेको विवरण अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँको उच्च विन्दुमा कारोबार भइरहेको छ । यसअघिको कारोबारको दिन अर्थात शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी तेजावी सुन पनि यस दिन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार चाँदी १ हजार ३ सय १० रुपैयाँमा खरिदबिक्री भएकाे थियाे ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट
पाल्पा रामपुरको इस्लामपुरस्थित मदरसा नुरुलहोदाको पठनपाठन अब आफ्नै भवनबाट थालिएको छ । यसअघि भवन अभावका कारण यहाँ विद्यार्थीलाई चउर राखेर पठनपनठन गरिँदै आएको थियो ।

इस्लामपुरमा मुस्लिम समुदायको बाक्लो बस्ती छ । यहाँका मुस्लिम समुदायका बालबालिकालाई लक्षित गरी २०६७ सालमा मदरसा नुरुलहोदामा प्राथमिक तहको पढाइ सञ्चालन गरिएको थियो । सुरुआतमा चन्दा उठाएर प्राथमिक तहको पठनपाठन सञ्चालन गरिएको थियो । उक्त विद्यालयमा अहिले पूर्वाधार निर्माण गरिएको छ । “चउर तथा बाहिर खुल्ला स्थानमा पठनपाठन गर्नुपर्ने अवस्था हटेको छ”, प्रधानाध्यापक नगेन्द्रप्रसाद काफ्लेले भन्नुभयो ।

जिल्ला शिक्षा समन्वय इकाई र जनश्रमदानबाट नयाँ भवन निर्माण गरी पठनपाठन भइरहेको प्रधानाध्यापक काफ्लेले बताउनुभयो । उहाँका अनुसार इकाईले रू १६ लाख अनुदान दिएको थियो भने रू एक लाख ५७ हजार बरारबरको जनश्रमदान गरिएको हो ।

विद्यालयमा हाल तीन पक्की भवन निर्माण गरिएका छन् । एघार कोठमा नेपाली, अङ्ग्रेजी र उर्दू भाषामा पठनपाठन हुन्छ । विद्यालयमा ६० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका संस्थापक अध्यक्ष हाजी हजिलदिन मियाँले विगतमा चन्दाको भरमा सञ्चालन भएको विद्यालयले हाल आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि आवासीय सुविधासहितको व्यवस्था गरेको छ ।

नर्सरीदेखि पाँचसम्म पढाइ हुने यस विद्यालयमा स्थायी दरबन्दीमा तीन, अन्य स्रोतबाट १० शिक्षक तथा एक कार्यालय सहयोगी कार्यरत छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालय सञ्चालन गर्न पालिकाले पूर्वाधारसहित आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।