अभिनेत्री निशा अधिकारीले हालिन् पति शरदविरुद्ध अंशवण्डाको मुद्दा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंशचलनको मुद्दा दायर गरेकी थिइन् ।

२०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन् । निशा फिल्म करिअरमा व्यस्त छिन् भने शरद राष्ट्रिय टिममा समावेश छैनन् । निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडाँै र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो । नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न हुनुभएको हो ।

शिविरमा दुई हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ । दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो । गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिनुभयो ।

बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिनुभयो । जटिल समस्या देखिएका चार जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन् ।