शक्ति बस्नेतलाई गृहमन्त्री बनाउदै प्रचण्ड !

हाम्रो सन्देश संवाददाता

१६ माघ, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) ले शक्तिबहादुर बस्नेतलाई गृहमन्त्री बनाउनेगरि गृहकार्य थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालकै काँधमा छन् ।

लामिछानेले अदालतको आदेशबमोजिम नागरिकता पूनः प्राप्ति गरेका छन् । तर, प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा रास्वपालाई गृहमन्त्रालय नदिने पक्षमा पुगेका छन् । उनले उक्त मन्त्रालय आफ्नै दलमा राख्न चाहेका छन् । हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नवनियुक्त सभापति लामिछानेसँगको भेटवार्तामा पनि दाहालले यस्तो अडान लिएका छन् ।

अहिले दाहाल पार्टी हेडक्वार्टर पेरिसडाँडामा पदाधिकारी बैठकमा छन् । माओवादीनिकट उच्च स्रोतकाअनुसार दाहालले आजै गृहमन्त्री नियुक्त गर्नेबारे पदाधिकारी बैठकमा छलफल गरेका छन् । दाहालले गृहमन्त्रीमा पार्टीबाट उपमहासचिव वर्षमान पुनलाई अघि बढाउन चाहेका छन् । तर, पुनको स्वास्थ्यले साथ नदिएकाले उनले पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई नै अघि बढाउनसक्ने बुझिएको छ । बस्नेत दाहालको विश्वासपात्रको रुपमा चिनिन्छन् । रास्वपाले भने गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

एमालेले पनि गृहमन्त्रालय रास्वपाको भागमा परेकोले पूनः लामिछानेलाई नै नियुक्त गर्न दबाब दिएको छ । गैरसांसदको रुपमा ६ महिना मन्त्री बन्न सक्ने अवस्था रहेकाले अहिले लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने ओलीको दबाब छ । तर, प्रचण्ड भने कुनैपनि हालतमा लामिछानेलाई गृहमन्त्रालय सुम्पने पक्षमा छैनन् । प्रचण्डले आफ्नै दलबाट गृहमन्त्री नियुक्त गरे अहिलेको गठबन्धन भत्किन सक्ने चर्चा भैसकेको छ । कांग्रेसका शीर्ष नेताहरुसँग दाहाल नियमित सम्पर्कमा रहेका छन् ।