कति छ आजकाे विदेशी मुद्राको विनिमय दर ?

हाम्रो सन्देश संवाददाता

१४ माघ, काठमाडौं ।

नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैँक अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १३ पैसा र बिक्री दर १६१ रूपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७१ पैसा र बिक्री दर ३५ रूपैयाँ ७८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार
जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ ।

दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताउनुभयो । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउनुहुन्छ ।

वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उहाँले बताउनुभयो । “अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ”, उहाँ भन्नुहुन्छ । चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन् । यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट सेवाग्राही आउँछन् । जाडो हटाउन सिद्राको झोल खाने चलनछ । सिद्रा साना साना भुरा माछा मारेर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको हो ।

रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आउनुभएकी जमुना बुढाले पहाडमा सिद्राको महत्व बढी भएकाले सिद्रा किन्न आएको बताउनुभयो । जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उहाँले सुनाउनुभयो । सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम हुने उहाँको विश्वास छ ।

दाङ राप्ती गाउँपालिका–९ कि पारु पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाउनुभयो । आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रुपमा पठाइदिने बताउनुभयो ।

अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि सिद्रा किन्न लागि चन्द्रौटा झरेको बताउनुहुन्छ । आफन्तको घरमा आएको बेला सिद्रा पाहुरको रुपमा घरमा लैजान लागेको उहाँले बताउनुभयो ।

चन्द्रौटादेखि २१ किलोमिटर भारतको बढनी बजारबाट लाखौको सिद्रा नेपाल आयात हुन्छ । लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताउनुभयो । भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारी सुकाएर सिद्रा बनाउछन ।

माछाका विभिन्न प्रजातिमध्ये जुँगे, झिंगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्छ । यहाँ सिद्रा किन्नको लागि साना साना व्यापारीदेखि ठूला व्यापारीसम्म आउने गरेको व्यापारी बताउँछन्। सिद्रा फुटकर रुपमा प्रतिकिलो रु दुई सयदेखि पाँच सयमा बिक्री हुन्छ । भारतबाट भन्सार गरी पशु क्वारेन्टाइनको अनुमति लिई सिद्रा बेच्ने बताइन्छ ।