सरकार र अर्थमन्त्री फेरिएसँगै शेयर बजारमा उछाल

हाम्रो सन्देश संवाददाता

१२ पुस, काठमाडौं ।

नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पाैडेल नियुक्त भएसँगै शेयर बजार उच्च अंकले उकालाे लागेकाे छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको सरकार ढलेसँगै र नयाँ अर्थमन्त्री पौडेल बन्छन् भन्ने चर्चा हुनासाथ सोमबारबाट नै शेयर बजार बढ्न थालेको हाे । सोमबार शेयर बजार करिब ५७ अंकले बढेको थियो भने मंगलबार ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ विन्दुमा पुगेर बन्द भयाे ।

मंगलबार कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २०२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आँधीखोला लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र एनआइबिएल डिभेन्चरको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको काराेबार भएको छ । सर्वाधिक लक्ष्मी बैंक लिमिटेडको २० करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १४ करोड २ लाख, हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख, नबिल बैंकको ११ करोड ३२ लाख र एनआइसी एसिया बैंकको १० करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।