धमाधम खाली हुँदैछन् काठमाडौंका घर, जताततै ‘टु लेट’का पोष्टर

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

सबैको सपनाको सहर हो काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौंमा आएर व्यापार व्यवसाय र अध्ययन अध्यापन गर्ने रहेर अधिकांशको हुन्छ । त्यसैले पनि आवास तथा व्यापार व्यवसाय गर्नका लागि काठमाडौंमा भाडामा घर/कोठा पाउन सकस पर्छ ।

देशभरकै जिल्लाहरुबाट मानिसहरु काठमाडौं आउने भएको कारणले पनि काठमाडौंमा जनघनत्व बाक्लो छ । यो भीडमा सस्तोमा भाडामा बसेर व्यापार व्यवसाय गर्ने रहर सबेको हुन्छ । तर, त्यो रहर भने पुरा हुन धेरै प्रयत्न गर्नु पर्छ ।

तर, अहिले भने अवस्था फरक छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टु लेट’ सहितका पोष्टर तथा होडिङ बोर्डहरु जताततै भेटिन्छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टु लेट’ पोष्टरहरु पछिल्लो समय बढेको देखिन्छ ।

अहिले ललितपुरको कुपन्डोलमा जताततै ‘टु लेट’ लेखिएका पोष्टरहरु भेटिन्छन् । विगतमा व्यवसायकि प्रयोजनका लागि भन्दै सटर नपाइने कुपन्डोलमा अहिले भने जताततै सटरहरु खाली भेटिन्छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिएपछि देशको अर्थतन्त्र केही सुस्तायो । उद्योग व्यवसायहरु सुस्त भए । त्यो क्रम अझैं रोकिएको छैन ।

त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकामा विभिन्न पेशा–व्यवसाय तथा रोजगारी गरेर बसेकाहरुलाई पनि परेको छ । लामो समयदेखि समस्या कायमै रहेपछि उपत्यकामा टिक्न गाह्रो भएको भन्दै अधिकांशले काठमाडौं छाडेर गाउँ फर्किए । कतिपयले गरेको सानोतिनो व्यापार व्यवसाय पनि छोडेर हिँडे । त्यसकारण पनि अधिकांश ठाउँका सटर तथा कोठा/फ्ल्याटहरु खाली भएको बुझिन्छ ।

अहिले हरेक चोक र टोलका घर र सटरमा ‘टु लेट’, ‘सटर भाडामा’, ‘कोठा भाडामा’ लेखेर टाँसिएका पोष्टरहरु भेटिन्छन् । केही भाडा रकम समेत खुलाइएको हुन्छ । आफ्नो गुजाराका लागि स–सानो व्यापार गर्नेहरु पनि भाडा तिर्न नसकेपछि सटर नै छोड्नु परेको बताउँछन् ।

काठमाडौंको कपनमा किराना पसल सञ्चालन गर्दै आएकी शारदा श्रेष्ठ दिन प्रतिदिन भाडा शुल्क बढ्दा समस्या भएको गुनासो गर्छिन् । विगत एक दशकदेखि किराना पसल सञ्चालन गर्दै आएकी उनले पछिल्लो समय ५ पटक सटर परिवर्तन गरिसकेकी छिन् ।

मैले सुरुमा मासिक ५ हजार रुपैयाँ सटर भाडा बुझाथेँ तर अहिले बढेर २५ हजार पुगिसकेको छ, अब त व्यापार नै गर्ने मन छैन, व्यापार भन्दा बढी सटर भाडा नै तिर्नु पर्छ,’ उनले भनिन् । उनी जस्ता सयौं साना व्यापारीहरुले भाडा तिर्नै नसकेर सटर नै छोडेर जाने गरेका छन् ।

अहिले व्यापारी मात्रै होइन भाडामा बस्नेहरु पनि गाउँ फर्किदा कोठा तथा फल्याट खाली भएका हुन् । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने भनेपछि कतिपय घर फर्केका छन् । अधिकांश मानिसहरु प्रचारप्रसारका लागि एक महिना अगाडि नै गाउँ फर्केको बुझिएको छ ।

घरबहाल सरोकार महासंघका अध्यक्ष बलभद्र खनाल मान्छेको आर्थिक आय आर्जनको स्रोतमा संकुचन आएपछि छोडेर गइरहेको बताउँछन् । खनालका अनुसार घर भाडा अनियन्त्रित रुपमा बढेपछि कतिपय मानिसले खाली गरेर जाने गरेका छन् ।

‘मान्छेसँग आर्थिक आयआर्जनको स्रोत छैन, घरबहाल अनियन्त्रित वृद्धि छ, बजारमा महँगी बढेको छ, कोभिडपछि मान्छे घर फर्कन थालेसँगै कोठा खाली हुँदै गएका हुन्,’ उनले भने ।

‘पछिल्लो समय काठमाडौंमा लिभिङ रुम, बेड रुम, किचेनसहितको फ्ल्याट सिस्टमका घरहरू बढी बन्छन्, यी घरहरूमा एउटा वा दुई वटा कोठा मात्रै छुट्याएर भाडामा दिइँदैन, उपत्यका बाहिरबाट आएका सामान्य वर्गका मानिसले सिङ्गै फ्ल्याट लिन सक्दैनन्,’ उनी भन्छन्, ‘ पछिल्ला वर्षहरूमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरू पीडित बनेका छन् ।’

बहाललाई नीतिगत रूपमा नै राज्यले व्यवस्थापन गर्न नसिकेको खनालको भनाइ छ । हिजो ५ हजारमा भाडामा लगाएको कोठा आज ६/७ हजारमा लगाउन पनि टु लेट पर्चा राखेको हुन सक्ने खनालले बताए ।

बहालमा बस्दा सम्झौता अनिवार्य गर्नुपर्ने

काठमाडौंभित्र घरबेटी र भाडावालबीच बहालमा लेनदेनको लिखित सम्झौता अनिवार्यको नियम लागू हुने भएको छ । काठमाडौं महानगरपालिकाले यसका लागि ‘बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा तयार पारेको छ ।

महानगरपालिकाभित्र बस्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि संरचना, स्थान वा जग्गा वहाल वा लिजमा लिँदा दिँदा अनिवार्य सम्झौता गर्नुपर्ने भएको हो । यसरी गरिएको सम्झौताको एक/एक प्रति लिने दिनेले राख्ने र एक प्रति वडा कार्यालयमा बुझाउनु पर्ने काठमाडौं महानरपालिकाले बताएको छ ।

महानगरपालिका अुसार भाडा रकम वृद्धि कति र कसरी हुने, बिजुली, पानीको शुल्क कसले बुझाउने, वहाल कर कसले बुझाउने, मर्मत कसले गर्ने जस्ता विषय उल्लेख हुनु पर्नेछ । सम्झौतामा बहाल कर सम्बन्धी विषय उल्लेख गरिएन भने कर बुझाउने दायित्व बहालमा दिने पक्षको हुनेछ ।

कुनै कारणले विवाद देखिएमा मेलमिलापका माध्यमबाट समाधान गर्न सकियोस्, यही विषयमा मुद्दा मामिला गरेर समय खर्च गर्नु नपरोस् भन्ने लगायतका समस्याहरु समाधानका लागि कार्यविधि तयार गरिएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

बहालमा दिनेले आफूले दिएको स्थान निर्वाध उपयोग गर्न दिने, पानी, बिजुली र शौचालय अनिवार्य उपलब्ध गराउने, सुरक्षा, सुव्यवस्था र आत्मसम्माजनक व्यवहार गर्ने जस्ता प्रबन्ध मिलाउनु पर्नेछ । त्यसैगरी लिनेले समयमा बहाल रकम भुक्तानी गर्ने, आफ्नै ठानेर सुरक्षा र संरक्षण गर्ने, अरुलाई अशान्ति र हैरानी हुने काम नगर्ने जस्ता दायित्व निर्वाह गर्नुपर्ने व्यवस्था मस्यौदामा उल्लेख छ ।

कार्यविधि लागू हुनुअघि वहालमा लिने दिनेले व्यवस्था लागू भएको ९० दिनभित्र कार्यविधिबमोजिम सम्झौता गरेर लिने दिने वा बुझाउने गर्नुपर्ने महानगरपालिकाले जनाकारी दिएको छ । वहाल रकममा महानगरको आर्थिक ऐनमा भएअनुसार समयमा बुझाउनेलाई प्रोत्साहन र नबुझाउनेलाई जरिवाना हुने समेत महानगरपालिकाले चेतावनी दिएको छ । विकाश न्यूज बाट