सन्दीपविरुद्धको मुद्दामा आज के–के हुन्छ, थुनामुक्त हुने सम्भावना कति छ ?

हाम्रो सन्देश संवाददाता

१८ कार्तिक, काठमाडौं ।

बलात्कार अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जवाफी बहस हुनेछ ।

अदालती समय सुरु भएलगत्तै सन्दीपको तर्फका बाँकी एक जना बरिष्ठ कानून व्यवसायी शम्भु थापाले बहस थाल्नुभएको छ । उहाँको बहस सकिएपछि सरकारी वकिलहरुको तर्फबाट छोटो जवाफी बहस हुनेछ ।

जिल्ला अदालत काठमाडौंमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लभ मैनाली, रमण श्रेष्ठले बहस गर्नुभएको थियो ।

उहाँका तर्फबाट अधिवक्ता सविना भण्डारीले पनि बहस गर्नुभयो । सन्दीपकै तर्फबाट बुधबार अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौड्यालले बहस गर्नुभएको छ ।

बिहीबार समयाभावका कारण सरकारी वकिलको तर्फबाट जवाफी बहस भएन । त्यसैले सन्दीपविरुद्धको मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता महेश खत्रीले जवाफी बहस गर्दैहुनुहुन्छ ।

जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।

अधिवक्ता सापकोटाका अनुसार सन्दीपका तर्फबाट उपस्थित कानून व्यवसायीले उनीविरुद्ध लगाइएको अभियोग पुष्टि गर्ने कुनै प्रमाण अभियोजनकर्ताले पेस गर्न नसकेको जिकिर गर्नुभएको छ ।

उहाँहरूले जाहेरीवालाको जन्मदर्ता, विद्यालयका प्रमाणपत्रहरू पेस गर्दै पीडित भनिएकी नाबालिग नभएको दाबी गर्नुभएको छ ।

उहाँहरूले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने र धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउन सकिने तर्क गर्नुभएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को व्यवस्थालाई उल्लेख गर्दै उहाँहरूले तीन वर्षभन्दा बढी कैद सजाय हुने सबै कसुरमा अभियुक्तलाई थुनामा राख्ने सो दफाको मनसाय नभएको तर्क समेत गर्नुभयो ।

सोही संहिताको दफा ६७ को उपदफा १ मा तीन वर्षभन्दा बढी सजाय हुन सक्ने कसुरको अभियोग लागेका अभियुक्तलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा’ वा ‘कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार भएमा’ अदालतले त्यस्ता अभियुक्तलाई थुनामा राख्न सक्ने व्यवस्था छ ।

यही तर्कका आधारमा सन्दीपका कानून व्यवसायीले उहाँलाई धरौटीमा रिहा गर्न माग गर्नुभएको छ ।

गएको सोमबार सन्दीपविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्षसम्म कैद र पीडितलाई उचित क्षतिपूर्ति माग गर्दै सरकारी वकिलको कार्यालयका तर्फबाट न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले अदालतमा मुद्दा दायर गर्नुभएको छ ।

मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान लिइएको थियो । त्यसपछि सरकारी न्यायाधिवक्ता घिमिरेको नेतृत्वमा तीन सरकारी वकिल र जाहेरीवालाको तर्फबाट तीन कानून व्यवसायीले बहस गर्नुभयो ।

सरकारी वकिल र जाहेरीवालका कानून व्यवसायीले सन्दीपले नाबालिगसँग उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए । सन्दीपका तर्फबाट बहस गरेका कानून व्यवसायीले भने उनलाई धरौटीमा रिहा गर्न माग गरेका छन् ।