चलचित्र ‘झिंगेदाउ’ भदौ १७ गतेबाट प्रदर्शनमा आउने

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्म ‘झिंगेदाउ’ को दुई वटा पोस्टर सार्वजनिक भएको छ। शुक्रबार पोस्टर सार्वजनिकसँगै निर्माण पक्षले फिल्म प्रदर्शनको मिति पनि घोषणा गरेको हो।

यसअघि भदौ ३१ गते फिल्म रिलिज हुने भनिए पनि अहिले भने मिति अघि सारिएको छ। निर्माण पक्षका अनुसार भदौ १७ गतेबाटै अलनेपाल रिलिज हुने भएको छ। निर्देशक देउजाले फिल्म प्रदर्शनको मिति दुई साता अघि सारिएको जानकारी दिए।

कोरोना महामारी अगाडि नै अधिकांश छायांकन सकिएको उक्त फिल्मको दुईवटा गीत भने केही दिनअघि छायांकन गरिएको छ। पोष्ट प्रोडक्सनको कामसमेत अन्तिम चरणमा रहेको सिनेमाको केही दिनमा गीत रिलिज गर्दै प्रचार प्रचारको काम आरम्भ गरिनेछ।

सिनेमामा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्टले मुख्य भूमिका रहेको छ। झिंगेदाउमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ‘झिंगेदाउ’मा आधारित रहेको छ। प्रदीप भारद्वाजले पटकथा तथा सम्वाद लेखेको सिनेमाका निर्माता सुलभ, समीक्षा र सुशिल हुन्।