२४ घण्टाका लागि चेतावनी जारी, कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

हाम्रो सन्देश संवाददाता

२९ जेठ, काठमाडौं ।

आज दिनभर देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गरायो ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहे पनि लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘प्रदेश १, मधेश प्रदेशका धेरै बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

कार्यपालिका बैठक डिजिटल बोर्डमा सार्वजनिक
इलामको सूर्योदय नगर कार्यपालिकाको बैठक ‘डिजिटल डिस्प्ले’मार्फत सार्वजनिक गरिएको छ । प्रविधिमा फड्को मारेको नगरपालिकाले आफ्नो बैठकलाई जनतामाझ पारदर्शी बनाउन डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो ।

जनताले प्रष्ट देख्न पाउने गरी डिस्प्लेमा सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नगर प्रमुख रणबहादुर राईले आफ्नो पहिलो एजेण्डाका रूपमा नगरका कार्यक्रम पारदर्शी बनाउने जनाउँदै पहिलो निर्णयका रूपमा डिजिटल डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्ने निर्णय गर्नुभएको थियो ।

नगरप्रमुख राईले डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्दा सबैले देख्ने र कार्यपालिका सदस्य बढी जिम्मेवार हुने बताउनुभयो । नगरवासीले सूचना पाउने अधिकारको सूनिश्चितता गरेको उहाँको भनाइ छ । नगरपालिकाका सूचना अधिकृत उज्वल सुवेदीले दुईवटा क्यामेरा नगरसभा हलमा जडान गरेर डिजिटल डिस्प्ले र नगरको फेसबुक पेजमार्फत कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरिएको जानकारी दिनुभयो ।

यसअघि सो नगरमा स्थानीय तह निर्वाचन २०७९ को मत परिणामसमेत डिस्प्लेमार्फत सार्वजनिक गरिएको थियो । जिल्लाका १० पालिकामध्ये यसरी कार्यपालिका बैठक सार्वजनिक गर्ने सूर्योदय नगरपालिका मात्र हो । नगरलाई प्रविधिमैत्री बनाउन नगरका सवारी साधनमा जिपीएस जडान गरिएको छ ।

प्रशासकीय अधिकृत भट्टराईका अनुसार अब विभिन्न सिफारिससमेत अनलाइनबाटै लिइने बताइएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले कार्यपालिका सदस्य ख्याम भुजेललाई नगरको प्रवक्ता तोकेको छ । नगर आर्थिक विकास समिति संयोजकमा ९ नं वडाका वडाध्यक्ष देवेन्द्र आचार्य, विपद् व्यवस्थापन समिति संयोजकमा वडा नं १ का वडाध्यक्ष राजकुमार शेरेङ्गलाई तोकिएको छ ।