मुग्लिन–आँबुखैरेनी सडक पहिरो अपडेट : पहिरोमा खसेका दुईजनाको शब भेटियो

हाम्रो सन्देश संवाददाता

२७ जेठ, काठमाडौं ।

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्डमा गएको पहिरोसँगै गाडीमा खसेका २ जनाको शब भेटिएको छ ।

बिहीबार राति सडक भासिएर खसेको उक्त पहिरोसँग बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पहिरोसँगै खसेको थियो ।

पहिरोमा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा छोप्राक ३ का केशब घिमीरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘मोटरसाइकलमा सवार गोर्खाका केशव घिमीरेको पहिचान खुलेको छ । अर्का १ को शब भेटिएपनि पहिचान खुलेको छैन ।’ डिएसपी खड्काले भने ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक झण्डै करिब २० मिटर सडक भाँसिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको छ ।

गोरखामा बाढी–पहिराले घरमा क्षति, सडक अबरुद्ध

लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पु¥याएको छ ।

बाढी र पहिराले १० घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका–६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो । अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार–९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए।

त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति रानालगायतको घरमा पहिराले क्षति पु¥याएको प्रहरीले जनाएको छ । छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिराले पनि चार घर उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

उखुबारीमा स्थानीय जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ । पालुङ्टार–९ जोगीबेंसीमा राममाया कुँवरको घर पनि खहरे खोलाले क्षतिग्रस्त बनाएको छ । बाढीले जोगीबेंसीदेखि बिर्दीसम्मको करिब तीन हजार रोपनीभन्दा बढी खेत बगरमा परिणत भएको स्थानीयको भनाइ छ ।

यता गोरखाको बारकिलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक खण्डमा पहिरोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । सिरानचोक गाउँपालिका ७ र ८ मा पर्ने बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।