कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घट्यो

हाम्रो सन्देश संवाददाता

२७ जेठ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कुल विदेशी विनियम सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ ।

‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ,’ राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो दश महिनाको विवरणमा भनेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई १० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६.१ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ ।

२०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

नेपाली रुपैयाँ बाहेक अरू देशका मुद्राहरू नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । हरेक देशका लागि विदेशी मुद्रा अत्यन्त महत्वपूर्ण हुन्छ ।

विदेशी मुद्रा धेरै सञ्चित भएमा देशलाई फाइदा हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दछ । यदि विदेशी मुद्राको अभाव हुन गएमा विदेशबाट वस्तु तथा सेवा किनेवापतको भुक्तानी गर्न कठिनाइ पर्दछ ।