सरकारले इन्धनको मूल्य एकैपटक १२ रुपैयाँसम्मले बढायो [ सूचनासहित ]

हाम्रो सन्देश संवाददाता

२७ जेठ, काठमाडौं ।

सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको हो ।

पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढाइएको छ । निगमले बिहीबार (आज) राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

निगमले जारी गरेको नयाँ सूची अनुसार खाना पकाउने ग्यासको भाउ यथावत रहँदा पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको निगमले जानकारी गरायो ।

तपाईंलाई जानकारी गराउ कि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरिएको थियो ।

आइओसीलाई किस्ता तिर्न नपुगेपछि निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

निगमले गत सातामात्र पेट्रोल, डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा रु तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।