भरतपुर अपडेट : माओवादीको गढको मतपेटिका खुल्यो, ह्वात्तै बढ्याे रेनुकाे रफ्तार (मतसहित)

हाम्रो सन्देश संवाददाता

३ जेष्ठ, काठमाडौं ।

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्। अहिलेसम्म १८६८३ मत गनिसक्दा रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०३८ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ७६११ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५०३२ मत ल्याएर पछ्याइरहेकी छन्। भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल रहेको छ।

उता, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले धाँधली गरेको पाइएको छ । आज तिलोत्तमा–१६ को मतगणना चलिरहँदा कर्मचारीले मतगणनाको रेकर्ड राख्दा धाँधली गरेको खुलेपछि गणना अवरुद्ध भएको छ ।

मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली कांग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि कांग्रेस प्रतिनिधिले विरोध गरेका थिए ।

अहिले मतगणनास्थलमा कांग्रेस समर्थकले नाराबाजी गरिरहेका छन् । आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरेको छ ।

“गल्ती हाम्रो पक्षबाट पनि भएको हो । गणनामा बसेका हाम्रा कर्मचारीबाट केही गल्ती भएकै हो,” निर्वाचन अधिकृत माधव लोहनीले बाह्रखरीसित भने, “दलहरूसँग छलफल गरेर समस्या समाधान हुँदै छ । हामी केही बेरमा गणना सुरु गर्छौँ ।”

यसैबीच, आयोगले विज्ञप्ति जारी गरेर मतगणनामा खटिएका कर्मचारीलाई गणनाको हस्ताक्षर गरेर मात्र कम्प्युटरमा विवरण प्रविष्ट गर्न निर्देशन दिएको छ ।

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस
बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।

अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत प्राप्त गर्नुभएको हो । यसैगरी थारुकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी चमेली बागवलले ९ हजार ३४१ र माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत प्राप्त गर्नुभएको छ ।

सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक र माओवादी केन्द्रले तीन वडामा विजयी भएका छन् । कूल ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो ।

जानकी र बैजानाथमा मतगणाना रोकियो

बाँकेको जानकी र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मतपरिणाम लुकाएको भन्दै विवाद भएको थियो । सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केहीबेरदेखि मतगणना रोकिएको जानकारी दिनुभयो ।

त्यस्तै बैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो ।