गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की होइन, सत्य हो : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

२५ वैशाख, काठमाडौं ।

सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् ।

देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन् । उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए ।

देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने बताए । आफ्नो मन्तव्यलाई छोट्ट्याउँदै दाहालले अझै तीनवटा कार्यक्रममा पुग्नुपर्ने बाध्यता रहेको बताए ।

पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताउनुभएको छ ।

तुलसीपुरमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शङ्का र उपशङ्का नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो । आज हाम्रो नेतृत्वमा सरकार छ । यो सरकारलाई टिकाउन लागि गठबन्धनको आवश्यक देखिन्छ ।”

उहाँले गठबन्धनका उम्मेदवार वियजी बनाउनका लागि मेहनत गर्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । आज नै प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताले घोराहीमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।