काठमाडौं आउँदै गरेका ५ जनाको मृत्यु, १८ घाइते

हाम्रो सन्देश संवाददाता

२१ वैशाख, काठमाडौं ।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा मा भारतीय पर्यटक (तिर्थ यात्रु) बोकेको गाडी र सिन्धुलीबाट काठमडौं जाँदै गरेको जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि एक बालक सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरी खतिवडाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् ।

दुर्घटनामा घाइते भएका १८ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटना मध्यान्ह करिब १२ बजेको समयमा भएको हो ।

ट्रक र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिका-१ मा आज ट्रक र रिक्सा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ बस्ने ४९ वर्षीया पिउली धिताल रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी धितालको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको रिक्सा आज दिउँसो १ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित दुबै चालकलाई इलाका प्रहरी कार्यालय बग्नाहाले नियन्त्रणमा लिएको छ ।