प्रधानमन्त्री देउवाविरुद्ध भरतपुरमा उजुरी

हाम्रो सन्देश संवाददाता

२१ वैशाख, भरतपुर ।

निर्वाचन आचारसंहिता विपरित कार्यक्रममा सहभागी हुन खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ। बिहीबारर भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न चितवन आउन लागेका देउवाविरुद्ध उजुरी दर्ता भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले अधिवक्ता सुनिता अधिकारीले देउवाविरुद्ध उजुरी दिएको बताए। ‘भोलि (बिहीबार)को आमसभालाई लिएर उजुरी दर्ता भएको छ। यो विषयमा निर्वाचन आयोगलाई जानकारी गराइएको छ,’ उनले भने।

नेपाली कांग्रेस चितवनले पार्टी सभापतिकको हैसिएतमा देउवा चितवन आउन लागेको जनाएको छ। जिल्ला सभापति राजेश्वर खनालले पार्टी सभापति देउवालगायतका नेताहरु चितवन आउन लागेको बताए।

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न

नहुने स्पष्ट व्यवस्था गरेको छ। तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारीले बताए।

निर्वाचन केन्द्रित रणनीतिक सुरक्षा योजना
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

जिल्लाका चार नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी , सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

उहाँले आवश्यकतानुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन हुने र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिनुभयो । उहाँले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताउनुभयो ।

मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने र यसपछि सामग्रीसहित खटाइने जानकारी दिँदै प्रजिअ शर्माले अनुसन्धानको टोलीबाट दलहरुको आचारसंहिता उल्लङ्घन लगायतका गतिविधिको सूक्ष्म अनुगमन भइरहेको बताउनुभयो ।

जिल्लामा कूल ७७ मतदान स्थल र २१९ मतदान केन्द्र छन् । जिल्लाका भक्तपुर नगरपालिकामा ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा ४३ हजार १०५ मतदाता छन् ।