काठमाडौंमा बिहानै देखि बढाइयो सुरक्षा उच्च सतर्कता, यस्तो छ कारण !

हाम्रो सन्देश संवाददाता

१२ चैत, काठमाडौं ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणको समय सुरक्षा सतर्कता उच्च बनाइएको छ । शुक्रवार साँझ नेपालमा उत्रिएका यी नेपालको ३ दिने भ्रमणका क्रममा छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीले सादा पोशाकका प्रहरीहरू खटाएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले बताए ।

‘उहाँको सुरक्षालाई मध्यनजर गरेर पोशाकमा भन्दा पनि सादा पोशाकका प्रहरी खटाएका छौं,’ एसपी राठौरले लोकान्तरसँग भने, ‘सडकमा त्यतिधेरै प्रहरी खटिएका छैनन् ।’ प्रहरी तिब्बती शरणार्थीले गर्नसक्ने आन्दोलन, धर्ना र कालोपट्टि लगायतका विरोध कार्यक्रम हुनसक्ने सम्भावना भएका क्षेत्रलाई सिलजस्तै गरेको छ । काठमाडौंको बौद्ध क्षेत्र र विशेष गरेर गुम्बाहरूमा उच्च सतर्कताका अपनाएको एसपी राठौरले बताए ।

प्रहरीले वाङ यी बस्ने होटललाई सुरक्षाका लागि पूर्णरूपमा सिल गरेको छ । ‘उहाँ बस्ने होटल पूर्णरूपमा सुरक्षा घेरामा राखेका छौं,’ एसपी राठौरले लोकान्तरसँग भने, ‘त्यसका अलावा उहाँ जाने क्षेत्रहरूमा कडा सुरक्षा निगरानी अपनाएका छौं ।’

प्रहरी स्रोतका अनुसार अहिले उनको सुरक्षाका लागि अगाडि, पछाडि प्रहरी, राष्ट्रिय अनुसन्धान र इन्टेलिजेन्स गरेर ४० जना खटाइएको छ । उनको कार्यक्रम रहेका मेरियट होटल, बालुवाटार लगायत क्षेत्रमा बाक्लो रूपमा उपत्यकाका प्रहरी संयन्त्रहरू २४ घण्टै खटिएका छन् । प्रदर्शन हुन सक्ने क्षेत्रमा पनि अत्याधिक बाक्लो रूपमा सादा पोशाकका प्रहरीहरू खटाइएको छ ।

थप समाचार : गठबन्धनको विरोध गर्नेहरूलाई कांग्रेस नेता सिंहको सुझाव

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशु्द्ध समाजसेवाको क्षेत्र भएको बताएका छन्। ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत शनिबार काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय राजनीतिलाई कमाइखाने भाँडो बनाउनेहरूका कारण जनतामा निराशा छाएको बताए। नेता सिंहले नेपालका कम्युनिस्टहरूको द्वेध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तिएको आरोप लगाए। कांग्रेस मात्रै स्पष्ट अडानवाला पार्टी भएको दाबी उनले गरे।

कांग्रेसले लिएको नीति र अडानकै कारण आजसम्म हरेक राजनीतिक आन्दोलन सफल भएको जिकिर उनले गरे। सत्ता र शक्तिमा रहेकाहरूले देशको हितलाई ध्यानमा राखेर काम गरे नागरिकको अपेक्षाअनुसार समृद्धि प्राप्त नेता सिंहले बताए। गठबन्धनको विरोध गर्नेहरूलाई उनले कुन परिस्थितिमा गठबन्धन बन्यो भन्ने वास्तविकता नबिर्सन आग्रह गरे।

स्थानीय तहेका निर्वाचनमा गठबन्धन के गर्ने भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकले कार्यकर्ता, कांग्रेसका शुभचिन्तकका सुझाव र मुलुकको आवश्यकतालाई ध्यान दिएर उपयुक्त निर्णय गर्ने उनले बताए।

साथै कांग्रेसका पक्षमा चुनावी माहोल बनाउँदै नागरिकका घरघर पुगेर कांग्रेसको नेतृत्वमा मुलुकमा भएका उपलब्धिबारे जानकारी गराई जनमत निर्माण गर्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए।