‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइजमाथि फ्रेन्ड्सको सानदार जित

हाम्रो सन्देश संवाददाता

२८ माघ, काठमाडौं ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले सानदार जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई-दुई गोल गरे भने श्याम बाबु केप्छ्याकीले एक गोल थपे ।

ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए । खेलको १४ औं मिनेटमा सुशीलले फ्रि-किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

ब्रिगेडका ड्याडी जुनियर वाम्बाले नाथनियल जुड ग्रासियालाई फउल गरेपछि फ्रेन्ड्सले फ्रि-किकको अवसर पाएको थियो । जसमा फ्रेन्ड्सका लागि डेब्यु खेलाडी सुशीलले उत्कृष्ट गोल गरे ।

तर, खेलको २५ औं मिनेटमा ड्याडीले फ्रि-किक मार्फत गोल गर्दै ब्रिगेडलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको २७ औं मिनेटमा श्यामले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्रि-किकमा उनले हेडर मार्फत गोल गरे ।

खेलको ७६ औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को अग्रता दिलाए । त्यसैगरी खेलको ७८ औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८६औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गरेपनि फ्रेन्ड्स ५-२ ले जित हात पार्यो । जितसँगै फ्रेन्ड्सले १० खेलमा ६ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा उक्लिएको छ ।

ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा झरेको छ । खेलमा फ्रेन्ड्सका सुशील प्लेयर अफ दि म्याच चुनिए ।

इमर्जिङ प्लेयर फ्रेन्ड्सका आकाश थापा चुनिए ।