२८ करोड राजस्व ठगीमा फसेका उमाशंकर यसरी भए रिहा !

हाम्रो सन्देश संवाददाता

१८ माघ, काठमाडौं ।

जागिरका लागि नागरिकता बुझाउँदा त्यसको दुरुपयोग भई राजस्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर अन्ततः २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

उनीमाथि २८ करोड रुपैयाँ राजस्व छलीको मुद्दा थियो । उच्च अदालत पाटनले उनलाई ७५ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, धरौटी बुझाउन नसक्दा उनी थुनामा थिए ।

अहिले सर्वोच्च अदालतले धरौटी रकम घटाइदिएपछि उनी थुनामुक्त भएका हुन् । आइतबार सर्वोच्चले तोकेको २५ हजार रुपैयाँ धरौटी उनले बुझाएका छन् ।

शुक्रबार न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार रुपैयाँ धरौटी बुझाएर उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

सर्लाहीका सरोजकुमार मिश्रले उमाशंकरको नागरिकता र ल्याप्चे दुरूपयोग गरेर काठमाडौंमा ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स भन्ने कम्पनी खोलेका थिए । ती कम्पनीबाट १ अर्ब ४ करोड राजस्व छली भएको राजस्व अनुसन्धान विभागले जनाएको थियो ।

राजस्वले उमाशंकरसहित १७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाएपछि उनी थुनामा परेका थिए । सर्वोच्चले आफ्नो आदेशमा मिश्रले उमाशंकरको नाममा संस्था खोलेर आर्थिक फाइदा लिएको र राजस्व चुहावटमा संलग्न रहेको उल्लेख गरेको छ ।