भोलिसम्म एमसीसी पास नगरे अमेरिकाले फिर्ता लैजाने !

हाम्रो सन्देश संवाददाता

१६ माघ, काठमाडौं ।

अमेरिकाले नेपाललाई फेब्रुअरी १ (माघ १८ गते)भित्र अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्न अल्टिमेटम दिएको छ । अन्यथा एमसीसी फिर्ता लैजाने अमेरिकाको चेतावनी छ ।

नेकपा एकीकृत समावजादीका बरिष्ठ नेता झलनाथ खनालकाअनुसार अमेरिकाले नेपाललाई एमसीसी अनुमोदनका लागि दिएको अल्टिमेटमको सूचना प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका हुन् । शनिवार बिहान र दिउँसो गरी दुईपटक पाँच दलीय सत्ता गठबन्धनको बैठक बसेको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी अल्टिमेटमबारे गठबन्धनका नेताहरूलाई जानकारी गराएका हुन् ।
उनका अनुसार, फेब्रुअरी १ मा एमसीसी पास नगरे फिर्ता लैजाने चेतावनी अमेरिकाले दिएको छ । ‘फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले अल्टिमेटम दिएको रे ।

त्यसभित्र तिमीहरूले पास गर्यौ भने गर्यौ, होइन भने हामी फिर्ता लान्छौँ भनेर प्रधानमन्त्रीले भन्नुभयो ’, एकीकृत समाजवादीका नेता खनालले भने । अमेरिकाले अल्टिमेटम दिएकाले त्यो समय घर्काउन प्रतिनिधिसभा बैठक स्थगित गरिएको पनि नेताहरूले बताएका छन् । नेता खनालले थपे, ‘अब १० दिन प्रतिनिधिसभा बैठक स्थगित गरौँ, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के-के हुँदो रैछ हेरौँ न ।’

आफूहरू संशोधनबिनै एमसीसी सम्झौता पास गर्न नहुने पक्षमा स्पष्ट रहेको पनि खनालले बताए । ‘यत्राविधि आपत्तिजनक कुरा छन्, नसच्चिएसम्म अनुमोदन हुँदैन नि’, नेता खनालले भने । गत पुस ४ गते बरिष्ठ नेता खनालकै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनले एमसीसीबारे समान धारणा बनाउन अध्ययन समिति बनाएको थियो ।

अध्ययन समिति गठन गर्ने निर्णय गर्नु गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले संसदको चालू अधिवेशनबाट एमसीसी पेस गर्ने प्रस्ताव राखेका थिए । तर, सत्ता साझेदार दलहरूले एमसीसी यथास्थितिमा अगाडि बढाउन नहुने भन्दै प्रश्न उठाएपछि गठबन्धनले समान धारणा बनाउन भन्दै समिति गठन गरेको हो ।

तर, गठन भएको डेढ महिनासम्म खनाल नेतृत्वको अध्ययन समितिले समान धारणा तय गर्न सकेको छैन । वरिष्ठ नेता खनाल नेतृत्वको अध्ययन समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य छन् ।