एमसीसीबारे समान धारणा बनाउन गठबन्धनका नेतासमक्ष प्रधानमन्त्री देउवाको प्रस्ताव

हाम्रो सन्देश संवाददाता

१५ माघ, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गठबन्धनका सबै दलले एकै धारणा बनाएर संसदमा लैजानुपर्ने बताएका छन् ।

स्थानीय चुनाव जेठभित्र गर्ने सहमति भएको गठबन्धन बैठकपछि आज पुनः बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । एमसीसी चाँडै संसदबाट पास नगराए कूटनीतिक जटिलता आउने उनले बताएको खबरहबसँग एक नेता बताए ।

बैठकमा देउवाले भने, ‘एमसीसी संसदमा लैजान अब विलम्ब गर्न हुन्न । ढिला भए कूटनीतिक समस्या आउँछ । एमसीसीलाई अघि बढाउन गठबन्धनको समान धारणा बनाउनुपर्छ । अनि तीनै चरणको निर्वाचनसम्म गठबन्धन कायम हुनुपर्छ ।’

बैठकमा देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी नेपालका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत ७ जना सहभागी थिए ।

भोलिलाई बोलाइएको संसद्‍ बैठक स्थगित

माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो ।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।