कतारले कामदारको १ हजार रियालभन्दा बढीले वृद्धि भएको तलब दिन सुरु

हाम्रो सन्देश संवाददाता

दोहा ।

कतार सरकारले न्यूनतम पारिश्रमिक प्राप्त गरिरहेका ३ लाखभन्दा बढी विदेशी श्रमिक तलब वृद्धि गरेको छ । आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले वृद्धि भएको हो ।

बुधबार नेपालस्थित कतारी दूतावासले सार्वजानिक गरेको प्रतिवेदनमा प्रतिमहिना १ हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल अर्थात ५० हजार रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ ।

अब खान–बस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी १ हजार तलब दिनुपर्ने नियम लागू गरिएको छ । यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक १८ सय तलब दिनैपर्ने व्यवस्था लागू भएको दूतावासले जनाएको छ ।

कतारको श्रम मन्त्रालयले निकालेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि १ हजार रियालभन्दा कम तलब पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलब पाउन थालेका छन ।

कोरोनाको समयमा विदेशी श्रमिकहरूलाई काम तथा आम्दानीमा कमी नहोस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार गरेको छ । आगामी वर्ष २०२२ को नोभेम्बर–डिसेम्बरमा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै आईएलओको अफिस राजधानी दोहामा राख्न दिएर काम गर्न थालेको हो ।

आईएलओसँगको सहकार्यपछि कतार सरकार आप्रवासी कामदारको हकमा खाडी देश मध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ । “कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ,” कतार सरकारले घरेलु कामदारको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्टमा भनिएको छ,

“विदेशी श्रमिकहरूको लागि रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ ।” कतारम हाल लगभग चार लाख नेपाली घरेलु कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।