धर्मशाला सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँः प्रेम आले

हाम्रो सन्देश संवाददाता

२ माघ, काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।

उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’ उनले छानविनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।

छानविन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए ।

कोरोनाको तेस्रो लहरः धमाधम हाइप्रोफाइल नेताहरू आइसोलेसन

नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो ।

तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् । माओवादी केन्द्रीय कार्यालयमा अधिकांशलाई कोरोना संक्रमण भएको छ ।

माओवादीको आठौं महाधिवेशनमा र त्यसपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका अधिकांश नेताहरूलाई कोरोना संक्रमण भएको छ ।

यस्तै सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, उमा रेग्मी, इन्द्र बानियाँसहित कांग्रेस शीर्ष नेताहरू संक्रमित भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित एमालेका शीर्ष नेताहरू संक्रमित हुँदा नेकपा ९एकीकृत समावादी० अध्यक्ष माधवकुमार नेपाल, रामकुमार भट्टराई, कल्याणी खड्कासहितका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमित नेताहरू आइसोलेसनमा छन् । तर, संक्रमित पुष्टि हुनुअघि भेट भएका र एउटै बैठकमा बसेका केही नेताहरूलाई भने कोरोना संक्रमण भए ।

प्रचण्ड, माधवकुमार सहभागीे सर्वदलीय बैठकमा उपस्थित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता जोगिएका छन् ।

जनस्वास्थ्यको मापदण्ड पालना गरी भिडभाड गरेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएका नेतादेखि पत्रकारसम्म अहिले कोरोना संक्रमणको चपेटामा परेका छन् ।