माओवादीले मर्यो भनेर झाडीमा फ्यालिदिएका राजेन्द्र लिङ्देनको राजनीतिक यात्रा

हाम्रो सन्देश संवाददाता

१९ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

लिङ्देनले २०० मतले आफ्ना प्रतिस्पर्धी तथा लामो समय अध्यक्ष रहँदै आएका कमल थापालाई पराजित गरेका हुन् । गत बुधबार मंसिर १५ गतेदेखि काठमाडौंमा शुरू भएको महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानको परिणाम (आज) १९ गते प्राप्त भएको हो ।

लिङ्देनले १,८१७ मत प्राप्त गरेका छन् भने थापाले १,६१७ मत प्राप्त गरेका छन् । कुल मतदाता करिब ३८ सय रहेका थिए । त्यसमध्ये ४३१ मत बदर भएको श्रेष्ठले बताए । कमल थापाले सामाजिक सञ्जाल मार्फत् आफ्नो हार स्वीकार गरेका छन् । थापाले लिङ्देनलाई बधाइ समेत दिएका छन् ।

राप्रपा र राप्रपा संयुक्तबीच २०७६ फागुनमा भएको एकतापश्चात् पार्टीको यो पहिलो महाधिवेशन हो । गत हप्ता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता लिङ्देनले पछिल्लो समय राप्रपामा आवश्यक गतिविधि हुन नसकेको बताउँदै पार्टी नेतृत्व परिवर्तनमा जोड दिएका थिए ।

साथै आफ्नो दलको एजेण्डा लोकप्रिय भए पनि पार्टी प्रभावकारी रूपमा देखिन नसकेको असन्तुष्टि जनाएका थिए । लिङ्देनले हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको मुद्दा आफूले राम्रोसँग बोक्न सक्ने दाबी गत बुधवार भएको उद्घाटन सत्रमा गरेका थिए । लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् ।

आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय मानिन्छन् । राजेन्द्र लिङ्देन आदिवासी समुदायका भएर पनि जातिय आरक्षणको विरोधी नेताका रूपमा चिनिने गर्छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीभएसँगै नेपालको पहिलो सङ्घीय संसदका सदस्य हुन् । वि.सं. २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघु ताप्लेजुङमा जन्मिएपनि राजेन्द्र लिङ्देनको बाल्यकाल भने झापामा बित्यो ।

उनको जन्मस्थल एमालेका दिवंगत महासचिव मदन भण्डारीकै जन्मगाउँ हो । राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेका हुन् । झापालाई कर्मथलो बनाएका उनको राजनीतिक जीवन भने विद्यार्थी संगठन (पञ्चायत–समर्थक) राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट सुरु भयो । राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन् ।

२०४६ को परिवर्तनपछि गठित राप्रपा राष्ट्रिय राजनीतिमा कमजोर भएपनि आफ्नो गाउँमा भने उनी लोकप्रिय थिए । लिङ्देनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भइ वडाध्यक्षको सफल कार्यभार सम्हालेका थिए । २०६०

सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङ्देन २०५६ सालको संसदिय चुनावमा चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो स्थानको मत पाएका लिङ्देन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजयलाई आत्मसात गर्नु परेको थियो । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै २०७० सालमा राप्रपा नेपालको महामन्त्री भए । २०७१ को पार्टी महाधिवेशनमा उनले केन्द्रिय सदस्यमा खुला तर्फ सर्वाधिक मत (११०८ मत) पाएका थिए ।

यस्तै राजनीतिक यात्रा गर्दै जाँदा लिङ्देन यतिबेला झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन् । वि.सं २०७४ साल नेपालको आम निर्वाचनमा उनी झापा ३ निर्वाचन क्षेत्रबाट ४४,६१४ (५६.५२ प्रतिशत) मत ल्याएर निर्वाचित भएका थिए । उनी नेपाली

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए । उनै लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै यतिबेला चर्चाको शिखरमा छन् । समान्य परिवारमा हुर्किएका उनी पञ्चायती राजनीति हुँदै बहुदल आएपछि

राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङ्देनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीको साख जोगाएका छन् । त्यसो त लिङ्देनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगाएका थिए ।

माओवादी दन्द्वकालमा माओवादीले बम बिस्फोट गराई घर आगजनीसमेत गरिदिएका थिए । त्यसपछि उनी झापाकै बिर्तामोडमा बसोबास गर्न पुगेका थिए । पछि माओवादी द्वन्द्वकाल सकिएपछि पुनः गोलधापमै बसोबास गदै आएका छन् । पटक-पटक माओवादीबाट

भौतिक आक्रमणमा परेका लिङ्देनलाई अन्तिम पटक भने मरणासन्न हुनेगरी कुटेर अब मर्यो भन्दै झाडीमा समेत फालिदिएका थिए । राजा ज्ञानेन्द्रले सत्ता हात लिएपछि जिविस सभापति बनेका थिए त्यस बखत लोकपृय काम गरेका कारण जनताको मनमा बस्न सफल

भएका हुन् । उनी टुप्पाबाट पलाएको वा कसैको आशिर्वादले नेता भएका व्यक्ति होइनन् सानो उमेरदेखि राजनीतिमा संघर्षरत व्यक्ति हुन् ।

हाल राप्रपाका महामन्त्री समेत रहेका लिङ्देन राप्रपाको एकमात्र निर्वाचित सांसद हुन् । राप्रपा पटक-पटक विभाजन भएर जुट्दै आएको पार्टी हो । पछिल्लो पटक २०७६ सालमा पार्टी एकीकरण भएपछि तीन जनाको अध्यक्षतामा सामूहिक नेतृत्व निर्माण गर्दै राप्रपा एकता

महाधिवेशनमा गइरहेको छ । राप्रपा हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयता खारेजीको एजेन्डा बोकेर राजनीति गरिरहेको शक्ति हो । पहिले गणतान्त्रिक धार बोक्ने समूह पनि अहिले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आइसकेको छ । पृथक तर स्पष्ट राष्ट्रवादी

दृष्टिकोणका कारण चर्चित बनेका लिङ्देन धर्मनिरपेक्षता, जातीय आरक्षण, सङ्घीयता र गणतन्त्रप्रति पूर्ण रूपले असहमतीका पक्षमा वकालत गर्दै आएका छन् । उनी नेपाली राजनीतिक वृतमा एक आशलाग्दो नेताका रूपमा चिनिएका छन् ।

नेपाल जस्तो न्यून आयश्रोत भएको मूलूकका निम्ति प्रदेश सरकार आवश्यकता नभएको प्रष्ट बताउने लिङ्देन बलियो स्थानीय तह र संघिय सरकार भए राज्यलाई व्यायभर कम हुने बताउँछन् । परिक्षण भईसकेको व्यक्तिलाई पटक पटक मौका दिएर समय वर्वात गर्नु भन्दा

नयाँलाई एक पटक मौका दिएर हेर्नुपर्ने उनको धारणा रहेको छ । राप्रपा महाधिवेशनको तयारी भइरहँदा उनले भनेका थिए, ‘अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौं है भनेर हामीले

कार्यक्रम गरेका हौँ । धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु’, उनले भने, ‘म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो । त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो ।’ उनले

यसलाई विद्रोह नभई वाध्यात्मक कदम बताएका थिए । लिङ्देनले पुरानो नेतृत्वबाट राप्रपाका एजेण्डा स्थापित हुन नसकेको भन्दै युवापंक्तिलाई नेतृत्व सुम्पिनुपर्ने धारणासहित उम्मेदवारी घोषणा गरेका थिए । अस्मिता बेल्बासे/ दैनिक न्यूज नेपाल