जनताले नबुझेको मात्रै हो एमसीसी नेपालको हितमा छ, जतिसक्दो छिटो पास हुन्छ : डा. भट्टराई

हाम्रो सन्देश संवाददाता

१८ मंसिर, काठमाडौं ।

जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल राष्ट्रको हित भएको बताएका छन् ।

डा. भट्टराईले एक टेलिभिजनको अन्तरर्वार्तामा एमसीसी बारे धेरै जनतालाई थाहा नभएको बताउँदै उनले भने, ‘मलाई गोरखाका जनताले तीन चोटी चुनेर पठाउनु भएको छ, त्यहाँ पनि (एमसीसी) ठूलो भ्रम रहेछ । म त्यहाँको विगट ठाँउमा पुगे र त्यहाँका सामान्य जनताले पनि यो एमसीसी के हो ? यो त राष्ट्रघाती छ रे, अमेरिका आउँछ रे भने, हामीले हैन डराउन पर्दैन भन्यौं ।’ यसैक्रममा उनले देशको रक्षा गर्नका लागि आफू ज्यूँदै रहेको बताउँदै एमसीसीलाई देशमा भित्र्याएर विकास गर्नुपर्ने बताए ।

उनले भने, हैन नडाराउनु तपाईहरु, हामी ज्यूँदै छौं, देशका लागि हामी छौं, यो देशलाई कसैले नोक्सान गर्न सक्दैन, देशको रक्षा हुन्छ र एमसीसीको विषयमा तपाईहरु चिन्ता नगर्नुस् । त्यसबारे आवश्यक निर्णय हामीले गर्छौं र यो देशको हितमा छ ।

उनले पुनः एमसीसी नेपालको हितमा छ भन्दै भारत, चीन अमेरिकासँग राम्रो सम्बन्ध बनाएर जानुपर्ने बताए । चीन विआराई र भारतसँगको सहमति साम्झैतालाई कार्यन्वयन गरेर जानुपर्ने उनको जोड छ ।

साथै अमेरिकाको सहयोग एमसीसी जतिसक्दो छिटो सम्झैता गरेर देश छिटो विकास गर्नुपर्ने बताउँदै जनता भ्रममा नपर्न आग्रह गरेका छन् । कुनै देशसँग विरोध नगरी सबैबाट सहयोग लिएर देशलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

डा.भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको बताए । डा. भट्टराईले राजनीतिक दलले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दावी गरे ।