राजा महेन्द्रले नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाए: सीपी मैनाली

हाम्रो सन्देश संवाददाता

१७ मंसिर, काठमाडौं ।

नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रले नेपाललाई भुटान र सिक्किम हुनबाट जोगाएको बताएका छन्। राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उनले महेन्द्रले विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको बताएका हुन्।

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा सम्बोधन गर्दै महासचिव मैनालीले भने, ‘नेपाललाई भारतमा गाभ्न रोकेको र नेपाललाई भुटान हुनबाट जोगाउने काम राजा महेन्द्रले गरेका हुन्। १० सालमा विधान सभा पास भएको भए नेपाल सिक्किमझैँ भारतमा गाभिन्थ्यो।’

महासचिव मैनालीले विदेशीहरुको हस्तक्षेपलाई राजा महेन्द्रले २०११ सालमा तुहाइदिए पनि २०४६ र २०६३ सालको आन्दोलनले अवान्छित बाह्य हस्तक्षेप भित्र्याएको आरोप लगाए। उनले भने, ‘२०४६ र २०६३ सालपछि नेपालमा अवान्छित बाह्य हस्तक्षेप भित्रियो। २०४६ सालमा प्रजातन्त्रको बुइ चढेर आएको भारतीय र युरोपेली प्रभाव नेपालमा भित्रियो।’

मैनालीले नेपालमा राजा, देउता, धर्म र कर्म मानेर राजनीति गर्ने नेतामात्र सच्चा राष्ट्रवादी भएको बताए। उनले भने, ‘राष्ट्रवादी त्यो हो जसले राजा, देउता, धर्म, कर्म मानेर राजनीतिक गर्छ। राष्ट्रवाद राजनीति चारवटा प्रवृत्ति हावी भएको छ, त्यसभित्र देशभक्त र विदेशभक्तहरु पनि छन्।’

माओवादीले भनेको क्रान्तिपछि देशमा विदेशी हस्तक्षेप झन् धेरै बढेर गएकाले इतिहासको समीक्षा गर्ने बेला भएको मैनालीले बताए।