कोरिया उड्नै लागेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा, रकम फिर्ता गराइने

हाम्रो सन्देश संवाददाता

८ मंसिर, काठमाडौं ।

कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ‘होटल प्याकेज’को नाममा रकम असुल्ने होटलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्टिङ अपरेसन गरेका छन् ।

उनले बाल्टिक होटलमा कोरिया उड्न लागेका ८३ जना नेपाली नागरिक बसेको र उनीहरूलाई होटल प्याकेजको नाममा बढी दिनको भाडा असुल्न लागेको सूचनाका आधारमा स्टिङ अप्रेसन गरेका हुन् ।

‘बुधवार बिहान मैले होटलमा स्टिङ अपरेसन गरेँ लोकान्तरसँग मन्त्री श्रेष्ठले भने, ‘मैले पहिलेदेखि नै श्रमिकको पक्षमा बोल्दै आएकाले अहिले पनि उनीहरूको समस्या समाधानमा लागि परेको हुँ ।’

मन्त्री श्रेष्ठका अनुसार बाल्टिक होटलमा कोरिया जान लागेका ८३ जना बसेका थिए । उनीहरू त्यहाँ ५ दिनदेखि बसेको तर, सात दिनको पैसा मागेको पाइएको मन्त्री श्रेष्ठले बताए ।

उनका अनुसार उनीहरूमध्ये धेरैले पैसा तिरिसकेको पाइएको छ ।

होटलमा बसेका ८३ जनामध्ये केहीलाई ३० हजार रूपैयाँभन्दा बढी थप रकम असुलेको पाइएको छ । तर, तिर्नुपर्ने रकम भने करीब १२ हजार मात्रै हुन आउने मन्त्री श्रेष्ठको भनाइ छ ।

‘कोरिया जान लागेका नागरिकलाई बढी पैसा तिराउन लगाउने ‘दलाल’ अजय सोडारी रहेछन्,’ उनले भने, ‘सोडारीले कोरियामा जाने नेपालीहरूले नेपालमा पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भनेका रहेछन्, जुन गैरकानूनी कुरा भयो ।’

मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई बढी लिएको पैसा तत्कालै फिर्ता गर्न भनेका छन् ।

‘८३ जना नेपाली आजै दिउँसो ४ बजे उड्दैरहेछन्, म अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो उनीहरूलाई भेट्छु र उनीहरूले पैसा फिर्ता नपाएको बताए भने तत्कालै फिर्ता पाउने व्यवस्था मिलाउँछु,’ लोकान्तरसँग मन्त्री श्रेष्ठले भने ।

सोडारीलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

यसअघि कोरिया रोजगारी खुलाउनुपर्छ भन्दै अभियान चलाउने संघर्ष समितिमा समेत सोडारी थिए । उनले नै ८३ जनालाई होटलमा बढी रकम असुलेको मन्त्री श्रेष्ठको भनाइ छ । लोकान्तर मा समाचार छ ।