मैत्रीपूर्ण फुटबलः बलियो ओमानको सामना गर्दै नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० असोज ।

आगामी पुरुष साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आज आइतबार मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार राति ७ बजे हुनेछ । हाल फिफा बरीयतामा ओमान निकैनै बलियो स्थितिमा छ । ओमान पछिलो बरीयता अनुसार ७८ स्थानमा रहँदा नेपाल १६८ स्थानमा छ ।

साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।नेपाली टिम कतारबाट साफका लागि सेप्टेम्बर २७ मा माल्दिभ्स जाने छ ।

आगामी अक्टोबर १ देखि १६ सम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्नेछ।

नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा २७ असोजमा बंगलादेशसँग खेल्नेछ । तालिकाको शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक साफमा पाकिस्तान र भुटानको सहभागिता रहने छैन ।