झलनाथ खनालको भारतमा फेरियो मृगौला, कसले दियो उनलाई किड्नी ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २० साउन ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला फेरिएको छ । उनको मृगौलाले काम गर्न छोडेपछि नयाँ मृगौला प्रत्यारोपण गरिएको हो । माधव नेपाल समुहमा सक्रिय नेता खनालको मृगौलाले काम नगरेको समाचार केही महिना अघि मात्र बाहिरिएको थियो । त्यसपछि उनी उपचारका लागि भारत गएका थिए । उनको केही समयअघि दिल्लीको एपोलो अस्पतालमा डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो ।

डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ । ‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनका स्वकीय सचिव कृष्ण भट्टराईले फेसबुकमा लेखेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो । ज्वरो लगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो । खनाललाई कसको मृगौला दिइयो भन्ने खुलाइएको छैन । उनलाई नेपाल सरकारले मृगौला उपचारका लागि ३० लाख सहयोग गरेको समाचार आएको थियो ।