कोरोना भाइरस संक्रमित बढे ! काठमाडौँ उपत्यकामा आज मात्रै १ हजार २७९ जनामा संक्रमण

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २० साउन ।

केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार (हिजो)को भन्दा बढी हो । मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित देशभरी कोरोना संक्रमितको संख्या ४ हजार १०७ थपिएको मन्त्रालयले जनाएको छ ।

एकैदिन ४ हजार १०७ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ३५४ जनाको पीसीआर परीक्षणमा २ हजार ९७५ र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १३४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।