मलेसियामा कार चोर्ने नेपाली सुरक्षा गार्ड पक्राउ, ६ कार नियन्त्रणमा

हाम्रो सन्देश संवाददाता

मलेसिया, १८ साउन ।

मलेसियामा कार चोरीको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कूल ६ जनालाई पक्राउ गरेको छ यीमध्ये एक जना नेपाली छन् । सेरदाङ ओसिपीडीका असिस्टेन्ट कमिश्नर एए अन्बालाङगनका अनुसार जिल्ला र क्वालालम्पुरका सिआइडी अधिकारीहरुले सुरुमा ३ जनालाई पक्राउ गरेका थिए ।

जुलाइ २५ मा पक्राउ परेका उनीहरुको साथबाट एउटा मर्सिडिज एस ३२० र टोयोटा एस्टिमा कार जफत गरिएको थियो ।मलेसियाको मिडिया द स्टारका अनुसार यी दुवै कार चोरी भएको प्रहरीमा रिपोर्ट गरिएको थियो । पक्राउ परेका ३ जनासँग सोधपुछपछि प्राप्त जानकारीका आधारमा एक जना नेपालीसहित अन्य ३ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले केही मोवाइल फोनहरु एउटा की प्रोग्रामर र भक्सवागेन पासात, ओडी क्यु७ र टोयोटा फर्च्युनरसहित ६ वडटा गाडी पनि जफत गरेको छ ।जफत गरिएकामध्ये २ वटा गाडी सेरी केम्बांगानमा चोरी भएको रिपोर्ट गरिएको थियो ।

प्रहरीका अनुसार यो गिरोहले लामो समयसम्म सामुदायिक पार्किङमा पार्क गरेर राखिएका कारहरुलाई निशाना बनाउँथे । यो गिरोहका सदस्यलाई ती कारहरु विदेशी नागरिकको भएको र ती विदेशीहरु लामो समयको लागि देश छोडेर गएको विश्वास हुन्थ्यो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये २ जना सम्भावित ग्राहक हुन सक्छन् । पक्राउ परेका नेपाली सुरक्षा गार्ड हुन् । उनले आफूले काम गर्ने ठाउँमा लामो समयसम्म पार्क गरेर राखिएका कारहरुको सूचना यो गिरोहलाई दिन्थे ।