गृहमन्त्री बन्न नदिने आफ्नै सहकर्मीहरुलाई महेश बस्नेतले दिए धन्यवाद

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ जेठ ।

नेकपा एमाले केपी ओली समूहका नेता महेश बस्नेतले आफ्नै साथीहरूका कारण मन्त्री बन्न नपाएको बताएका छन्। उनले पार्टीभित्रका ती विरोधी साथीहरुलाई धन्यवाद समेत दिएका छन्।

बिहीबार भएको १८ औं पटकको मन्त्रिमण्डल विस्तारपछि प्रतिक्रिया व्यक्त गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले हरेक पटक मन्त्रिपरिषद् बिस्तार हुँदा आफ्नो नाम व्यापक चर्चामा आउने गरेपनि आफ्ना सहयोद्धा साथीहरु मन्त्री बनाउने पक्ष र विपक्षमा लाग्ने गरेको उल्लेख गरेका छन्।

बस्नेतले भनेका छन्- ‘मेरो सहयोद्धा कमरेडहरु मन्त्री बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ। मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन्। मेरा विरोधी साथीहरुलाई झन धेरै धन्यवाद छ।’

उनले आफ्ना ती साथीहरुको सो कदमका कारण झन् सचेत भएर कदम चाल्ने गरेको र यस्ता कुरा आफ्ना लागि सिकाई र उपलब्धी भएको उनको भनाई छ। नेता बस्नेतले पार्टीको काममा सदैव आफ्नो दक्षता देखाएको र पार्टीभित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको उल्लेख गरेका छन्।

बस्नेले केही मिडियाले आफ्नो नाम जोडेर अर्को गुटमा लाग्न लागेको समाचार लेखेकोप्रति आक्रोश व्यक्त गरेका छन्। उनले आफू जहाँ छु त्यहीं रहेर राजनीति गर्ने बताएका छन्।