काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ चैत ।

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिएका छन । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोके छ । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको उनले बताएका छन । ‘संघले तोकेको मूल्य ब्रोइलर कुखुराको मासु काठमाडौं उपत्यकामा बिक्री इतिहासकै सबै भन्दा धेरै हो,’ अध्यक्ष बिसीले भने । यस अघि कुखुराको मासुको मूल्य संघले चार सय रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।

ब्रोइलर मासुको बिक्री थालेको २२ वर्षको अनुभवमा अहिलेको मूल्य यस अघि कहिल्यै नदेखेको संघका निर्वतमान कोषाध्यक्ष बल्लु बलराम खड्गीले बताएका छन । ‘संघले ४१० रुपैयाँ तोकेको छ, खुद्रामा ४३० रुपैयाँ भन्दा धेरैमा मासुको मूल्य रहेको हुनसक्छ,’ खड्गीले भने । मासुको खुद्रा बिक्रीकर्ताहरुका अनुसार मासुको बजार प्रति किलो मूल्य ४३० रुपैयाँ भन्दा धेरै छ । तयारी कुखुराको प्रतिकिलो मूल्य नै ३९० रुपैयाँ भन्दा धेरै होलसेलमा पर्ने गरेको काठमाडौं नागार्जुनका मासु व्यवसायी पूर्ण बहादुर श्रेष्ठले बताएका छन । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुन्छ ।