श्रीमती जिस्काउने श्रीमानलाई कुट्नेहरू आधा घण्टामै झ्याप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ चैत ।

काठमाडौंको गोंगबुमा हिजो बिहान एकजना मान्छेलाई सडकमा निर्घात कुट्दै गरेको भिडियो फेसबुकमा लाइभ अपलोड भयो ।

तर,नेपाल प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई आधा घण्टामा पक्रेर अभद्र व्यवहारको अभियोगमा कारबाही अघि बढाएको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहको कमाण्डमा खटिएको टोलीले आधा घण्टामा तीन जनालाई समातेको हो ।

तनहुँ घर भएका तर बनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ,ढुंगेधारा बस्ने वर्ष २५ का सोमबहादुर गुरुङ र धापासी बस्ने वर्ष २५ का दीपेन्द्रकुमार थापाले सुनसरी घर भई गोंगबु बस्ने अमर लिम्बुलाई निर्घात कुट्दै “आफ्नो उक्त पौरख” फेसबुकमा लाइभ गरेका थिए ।

उनीहरूले आफ्नी श्रीमतीलाई जिस्काएपछि लिम्बुले किन जिस्काएको भनेर बिरोध गर्दा तीनैजनाले एक्कासी लिम्बुमाथि प्रहार गर्दै सडकमा निर्घात् कुटेका हुन् ।
आखिर नेपाल प्रहरीले चाहे भने जुनसुकै गतिविधिमा संलग्न अपराधी भाग्न नसक्ने हिजो बिहानको प्रहरी सक्रियताले पुष्टि गरेको छ । तर,राजनीतिक दवाबको अगाडि धेरै वटा घटनामा नेपाल प्रहरी चाहेर पनि निरीह बन्ने गरेकाले आफ्नो सशक्त क्षमता नदेखिएको एक जना पूर्व डीआईजीले स्वीकारेका छन् ।