नेपाल गाेल गर्न चुके पनि फाइनल प्रवेश

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ चैत ।

बंगलादेशसँग बराबरी खेल्दै नेपालले थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ । पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।

नेपालले गोल नगरेको यो छैटौं अन्तर्राष्ट्रिय खेल हो । पछिल्लो पटक नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध २–० को जित हात पार्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । त्यसयता नेपालले गोल गर्न नसकेको ५६८ मिनेट भएको छ । दशरथ रंगशालमा किर्गिस्तानविरुद्ध खेलेको भन्दा सुधारिएको प्रदर्शन गरेपनि नेपालले गोल गर्न सकेन ।नेपालले सुरुवाती दश मिनेट बलमा पकड जमाएपनि पहिलो एटेम्टका लागि २० मिनेट कुर्नुपर्‍यो । त्रिदेव गुरुङले उपलब्ध गराएको क्रसमा २१औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट हानेको फ्रि हेडर पोष्टमाथिबाट बाहिरियो ।

३७औं मिनेटमा बंगलादेशका इमोनको हेडर दिनेश राजवंशीले गोललाइन अगाडिबाट क्लियर गरेका थिए । ४०औं मिनेटमा कप्तान जमल भुयनले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन । ६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको हेडरले पोष्टको दिशा लिन सकेन भने ८२औं मिनेटमा दर्शक गुरुङ चुके ।