स्तन क्यान्सरका लागि बी.आर.सि.ए. जीन परीक्षण

हाम्रो सन्देश संवाददाता

स्तनका कोषहरु असामान्य रुपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुने गरेको छ । साधारणतया कोषहरुको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गरेको विज्ञहरु बताउँछन् ।

तर, जब शीघ्र रुपमा र धेरै मात्रामा कोषहरु बृद्धि र विभाजन हुन्छन् पुराना कोषहरु टाँसिएर रहन्छन् । तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तनमा भएका कोष कोषिकामा असामान्य परिवर्तन आई तिनीहरुको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरु नष्ट गर्छन् । ती ट्युमर शरीरका अन्य भागमा फैलिन सक्छन । शल्यक्रिया गरेर हटाएपनि फेरी उत्पन्न हुन्छन् । र धेरै खतरनाक हुन्छन् ।

स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरुको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो, तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ । वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले स्तन क्यान्सरको लागि बीआरसीए जीन परीक्षण गर्न सकिने बताउनुभयो ।

वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न सकिँदैन तथापि सन्तुलित आहारबिहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्युनिकरण गर्न सकिन्छ । सकभर विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्वपुर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो ।

BRCA जीन परीक्षण एउटा रक्त परीक्षण हो । यी जीनहरुमा म्युटेसन हुने व्यक्तिहरुलाई सामान्य जनसंख्याको तुलनामा स्तन क्यान्सर हुने खतरा बढी हुन्छ । स्तन क्यान्सर व्यक्तिगत वा पारिवारिक इतिहासमा आधारित वंशाणुगत म्युटेसन हुने सम्भावना भएकालाई यी जीन परिक्षण गरिन्छ ।