‘प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेको भन्दा ठूलो अपराध गरे’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ जेठ ।

सभामुख अग्‍निप्रसाद सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग गरेको छलफल गरेका छन् । बिहीबार सभामुख सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गरेका हुन् ।

आफूले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको सभामुख सापकोटाले बताए । संविधानविद् तथा कानुनविद्हरुसँग उनले संसद्‍ प्रभावकारी ढंगले चलाउने बताए ।

‘छलफलका क्रममा धेरै आदरणीय व्यक्तित्वहरूले संसद् सञ्‍चालन प्रभावकारी नभएको बताउनु भयो,’ सभामुख सापकोटाले भने, ‘अब हामी गम्भीर भएर प्रभावकारी बनाउने प्रयास गर्ने र आएका सुझावलाई आत्मसाथ गर्नतर्फ लाग्‍ने छौं ।’

बुधबार पनि सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका थिए ।

मान्छे मारेको भन्दा ठूलो अपराध गरे- संविधानविद् डा. भीमार्जुन आचार्य
– मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्रीले शपथ खाँदाको दृष्य भद्दा भयो । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धारा अनुसार प्रधानमन्त्री हुन् ?

विश्वासको मत लिन नसकेको अवस्थामा धारा ५ मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभई, फेरि प्रधानमन्त्री दाबी गर्नु नियतमाथिको खोट थियो । रिक्त हुँदै नभएको पदका लागि दाबी गर्न कसरी सुहाउँछ ? प्रतिपक्ष र संसद् पनि निकम्मा भयो ।

लहड र सनकको भरमा प्रतिनिधि सभा विघटन गर्न पाइँदैन- वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई
– सभामुखले राष्ट्रपतिलाई प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ । मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्‍ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ । संविधानको हरेक धाराहरु क्रियात्मक रुपमा अभ्यास हुनु जरुरी छ । कसैको लहड र सनकको भरमा यो प्रतिनिधि सभा विघटन गर्न पाइँदैन । प्रतिनिधि सभा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख कसैले मार्न सक्‍दैनन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेले- वरिष्ठ अधिवक्ता शम्भु थापा
– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्लज्ज खेल खेले । राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेलेका छन् । संविधान सभाको संविधान कहिल्यै मर्दैन । यो संविधान संविधान सभाले बनाएको हो । अर्को संविधान बन्ने प्रक्रिया छैन ।

संविधानलाई कसैले मार्न सक्दैन । संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले हरहिसाब गरेर खेल खेल्नु भएको छ । अदालतमा निर्लज्ज छ । कुनै पनि हालतमा सरकार छोड्दिन भन्नु भएको छ । बहुमतको प्रधानमन्त्री दाबी गरेर गइसकेको अवस्थामा नयाँ कागज बनाउने अधिकार राष्ट्रपतिलाई कसले दियो ?

प्रधानमन्त्रीविरुद्ध सभामुखले अवहेलना मुद्दा हाल्नुपर्छ- राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी
– प्रधानमन्त्रीविरुद्ध सभामुखले अवहेलना मुद्दा हाल्नुपर्छ । यसअघि विघटन भयो । अदालतले पुनःस्थापना गरिदियो । पटक–पटक विघटन गरेको छ । पटक-पटक संविधान र व्यवस्थाविरुद्ध काम गरेको छ । प्रधानमन्त्रीलाई अब अदालतको अवहेलाना मुद्‍दा सभामुखकै पहलमा ठोक्नु पर्‍यो । अनि अर्कोपटक विघटन गर्न हुँदैन भन्ने चेत आउँथ्‍यो कि ? यो ठूलै काम छ । गाह्रै काम छ । तर गर्नुपर्छ । खबरडबली बाट साभार