घनश्याम र योगेशसँग मध्यरात प्रधानमन्त्रीको यस्तो थियो कुराकानी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ बैशाख ।

फुटको संघारमा पुगेको पार्टी मिलाउने प्रयासस्वरुप बालुवाटार छिरेका माधव नेपाल समूहका दुई प्रभावशाली नेता मध्यराति रित्तो हात फर्किएका छन् । हिजो बेलुकी ८:३० बजे प्रधानमन्त्री निवास छिरेका दुई पूर्वमन्त्री घनश्याम भुसाल र योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीले निराश बनाएर फर्काउनुभएको हो ।

शुरुमा केहीबेर कुराएर भेट गर्नुभएका ओलीले एक घण्टासम्म माधव नेपालविरुद्ध गुनासो सुनाएको र अन्त्यमा जेठ २ मा फर्किन नसक्ने प्रष्ट बताएपछि उनीहरु मध्यरातमा बालुवाटारबाट फर्किएका थिए । झन्डै साढे दुई घण्टाको छलफलमा ओली टसको मस नभएपछि हैरान भएर साढे एघार बजे बाहिरिएको नेता भट्टराईले बताउनुभयो ।

अध्यक्ष ओलीमा पार्टी मिलाउने तत्परता नदेखिएपछि छलफल टुंग्याएर बालुवाटारबाट बाहिरिएका थिए । छलफलमा अधिकांश समय ओलीले गुनासो सुनाएको र माधव नेपालको आलोचना गरेको नेता भट्टराईले बताउनुभयो ।एमाले उपमहासचिव भुसालका अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट संचालन गर्न र थप एकताबद्ध बनाएर लैजान राखिएको प्रस्ताव ओलीले अस्वीकार गरेपछि छलफल निरर्थक बनेको हो ।

पार्टीलाई एकताबद्ध बनाएर सरकारको स्थायित्व सुनिश्चित गराउन नेपाल समूहका तर्फबाट गरिएको प्रस्ताव ओलीले नमानेको उहाँको भनाइ छ ।विगतमा भएका कमिकमजोरीलाई समीक्षा गर्दै आवश्यकताअनुसार आत्मालोचित हुने विश्वास दिलाउँदा पनि ओली सहमतिका लागि तयार नभएको नेताहरुले गुनासो गरेका छन् ।

छलफलका क्रममा ओलीले माधव नेपालले आफूलाई पटक-पटक पार्टीबाट हटाएको, प्रचण्डसँग मिलेर प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको जस्ता गुनासो गरेपछि भुसाल र भट्टराईले समीक्षा गर्न सकिने बताउनुभएको थियो । दुवैतिरबाट भएका गल्ती कमजोरीको समीक्षा गर्दै नयाँ ढंगले पार्टी निर्माणमा योगदान गर्न गरेको आग्रह ओलीले नमानेको भटराईले बताउनुभयो ।

ओलीले एकोहोरो अडान दोहोर्याएपछि अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले पार्टी मिलाउने जिम्मा लिन आफूहरुले पुन: आग्रह गरेको भट्टराईले बताउनुभयो । ‘तपाइँ पार्टीको अध्यक्ष र मुलुकको प्रधानमन्त्री हो । तपाईंले नै समाधान दिनेगरी सोच्नुपर्यो, त्यो जिम्मेवारीबाट सोच्नुस् र जसरी पनि मिलाउनुस्’, बालुवाटारमा भनेको कुरा सुनाउँदै नेता भट्टराईले भन्नुभयो, ‘मिलाउन नसके विभाजनतर्फ जान्छ ।

कसको कारणले विभाजन भयो, नेतृत्वमा को थियो भन्दा तपाइँकै नाम आउँछ । इतिहासमा त्यस्तै लेखिन्छ । त्यसैले जेठ २ गतेलाई आधार बनाएर अरु के-के गर्ने बसेर सल्लाह गरौं ।’ओलीले भने आफ्नै सरकारका विरुद्ध विपक्षीसँग गठबन्धन गरेको, पत्रकार महासंघमा घेरावन्दी गरेको जस्ता गुनासो दोहोर्याउनु भएको थियो ।

विगतका कमजोरी समीक्षा गरौँ न त भन्ने आफूहरुको प्रस्तावमा पनि ओली सहमत नभएको भट्टराईको गुनासो छ । बरु अब चुनावमै जाने हो, चिज धेरै अगाडि बढिसक्यो भन्दै ओलीले जेठ २ गते फर्किने कुरा मान्न नसकिने कुरा प्रष्ट राखेको उहाँले बताउनुभयो ।

‘अरु कुरा मान्न सकिन्न, नि:शर्त आउनुस् । कमिटीमा बसेर छलफल गरौँ भन्ने उहाँको कुरा थियो’,भट्टराईले भन्नुभयो ।पौने नौ बजेदेखि शुरु भएको कुराकानी सवा ११ बजे टुंगिएको थियो । पार्टी विभाजन रोक्न सबै पक्षसँग लगातार छलफलमा जुट्नुभएका नेता भट्टराईले अस्ति राष्ट्रपति विद्या भण्डारीसँग पनि छलफल गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा झन्डै डेढ घण्टा कुराकानी गरेको उहाँले बताउनुभयो । उक्त कुराकानीमा पनि आफूले बालुवाटारमा भनेकै कुरा राखेको उहाँले बताउनुभयो ।‘उहाँ (राष्ट्रपति) लाई पनि मैले त्यहि भनेँ । राष्ट्रपति,प्रधानमन्त्री सबै कम्युनिष्ट भएका बेला कम्युनिष्टकै सत्यानाश हुनु दुर्भाग्यपूर्ण हुन्छ ।

सबै मिलेर पार्टी जोगाउने गरी सोचौँ’, शीतलनिवासमा भएको कुराकानी सुनाउँदै नेता भट्टराईले भन्नुभयो । उक्त भेटघाटमा आफूले अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाललाई बोलाएर कुराकानी थाल्न आग्रह गरेको उहाँको भनाइ छ ।जन आस्था