बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हाम्रो सन्देश संवाददाता

बर्दिया, ३० चैत ।

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हिजो दिउँसो बर्दियाको बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी ६० बर्षिया भुन्टी बोहोरालाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीको आक्रमण भएको खवर पाएपछी प्रहरी टोली घटनास्थल पुग्दा उनको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

केही दिनअघि बर्दियामै बाघको आक्रमणमा परि एक जनाको मृत्यु भएको थियो । यो वर्षमात्रै बाघको आक्रमणबाट बर्दियामा १० जनाको मृत्यु भइसकेको छ ।
डीडीसीको गन्हाएको दूध बजारमा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षक ईश्वर सुवेदीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को दूध दिनहुँजसो उपभोग गर्छन् ।
यसका उत्पादन विश्वासिलो भएकै कारण आफ्नो रोजाइमा परेको उनको भनाइ छ । गत मंगलबार भने सुवेदीलाई डीडीसीको दूधमा शंका लाग्यो ।

‘चिया खाँदा अस्वाभाविक गन्ध आयो । शंका लागेर कार्यालय जाँदा दूध लिन गएँ । थप नमुना संकलन गरेर परीक्षण गर्न दिएँ’, सुवेदीले भने, ‘कार्यालयमा पनि दूधमा गन्ध आएको पकाउँदा अमिलो भएको भन्दै दुई तीन जनाले फोनमै गुनासो गरे ।’

लगतै दुई जना ५० र १०० एमएल दूध बोकेरै खाद्यमा आए । सर्वसाधारणकको गुनासो आएपछि खाद्य निरिक्षक सुवेदीले डीडीसीका काठमाडौं दुग्ध वितरण आयोजना प्रमुख नीलकण्ठ गौतमलाई फोन गरे ।

तर गौतमले दूधमा भएको गन्धको सन्दर्भमा जानकारी दिन मानेनन् । सूचना अधिकारीमार्फत जानकारी लिन आग्रह गरे ।

त्यसपछि सुवेदीले डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीलाई फोन गरे । ‘पानी बालाजु औद्योगिक क्षेत्रले आपूर्ति गरेको र त्यसमा क्लोरिनको मात्रा बढी भएकाले गन्ध आएको राजेन्द्र अधिकारीले जानकारी गराउनुभयो’, ‘थप स्पष्ट पार्ने गरी लिखित रुपमा खाद्य विभागमा जानकारी गराउन भनेको छु’, सुवेदीले भने ।

बालाजु औद्योगिक क्षेत्रले वितरण गरे पनि पानीको गुणस्तर हेर्ने दायित्व डीडीसीको हो । कान्तिपुर