भारतको दिल्लीमा कडा लकडाउन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ चैत ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ लाख ५२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । ८ सय ३८ जना सङ्क्रमितको ज्यान गएको छ ।

तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै भारतको दिल्ली सरकारले कडा मापदण्ड लागू गरेकाे छ ।

घोषणा भएको प्रतिबन्धात्मक नियमअनुसार अब सामाजिक, राजनीतिक, मनोरञ्जन, खेलकुद प्रतियोगिता र सार्वजनिक कार्यक्रमहरु बन्द भएका छन् । यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीबाहेक अरुलाई सार्वजनिक स्विमिङ पुलमा प्रतिबन्ध लगाइएको छ ।

यस्तै विवाह समारोहमा ५० जनाभन्दा धेरै र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै सामेल हुन नपाउने भएको छ । सबै कलेज र कोचिङ सेन्टरहरु पनि बन्द गर्ने निर्णय भएको छ भने रेष्टुरेन्ट तथा बारहरुमा पनि प्रतिबन्ध लगाइएको छ । बस र गाडीहरुमा पनि सिट क्षमताभन्दा ५० प्रतिशत कम मानिस राख्नुपर्ने भएको छ ।

यस्तै महाराष्ट्रबाट हवाइमार्फत दिल्ली पुग्नेहरुका लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । रिपोर्ट नलिइ दिल्ली जानेहरु १४ दिन क्वरेण्टिनमा बस्नुपर्ने नियम दिल्ली सरकारले लगाएको छ । पछिल्ला दिनहरुमा भारतमा अरु देशभन्दा धेरै कोरोना सङ्क्रमित थपिने क्रम रोकिएको छैन ।