अब मोबाइलको ब्यालेन्सबाटै पसलदेखि बिजुलीको पैसा तिर्न सकिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ चैत ।

अब नेपाल टेलिकमले वितरण गरेको सिमकार्डबाटै आर्थिक कारोबार गर्न सकिने भएको छ । नेपाल टेलिकमले सिमकार्डबाटै आर्थिक कारोबारको सेवा दिने गरी मोबाइल फाइनान्स सर्भिस सञ्चालन गर्ने तयारी गरेको हो ।

नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा रहेको डिजिटल पेमेन्ट कम्पनीले मोबाइल मनी सेवा सञ्चालन अनुमति माग्दै नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेको छ । टेलिकमले सेवा सञ्चालनका लागि गत पुसको अन्तिम साता निवेदन पेश गरेको थियो । टेलिकमको निवेदन अनुसार राष्ट्र बैंकका अधिकारीहरुले पहिलो चरणको अनुगमन गरिसकेका छन् ।

राष्ट्र बैंकबाट मोबाइल मनी सञ्चालन गर्न तयार पारेको भौतिक पूर्वाधार र उपकरणको अनुगमन भएतापनि सेवा सञ्चालनको स्वीकृति पाइनसकेको डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकबाट अनुमति पाएपछि टेलिकमले सेवाग्राहीलाई उपलब्ध गराएको मोबाइल नम्बरमा रहेको ब्यालेन्सबाट सामान र सेवा खरिद गर्न सकिनेछ ।

उनका अनुसार टेलिकमका ग्राहकले मोबाइल मनी सेवा सञ्चालनका लागि रिचार्ज कार्डबाट समेत रकम लोड गर्न सकिनेछ । ‘मोबाइलमा रिचार्ज गर्दा मोबाइल मनी सेवामा गर्ने की सिमकार्डमा गर्ने भनेर दुई विकल्प राखिएको छ, ग्राहकले आफ्नो आवश्यकता अनुसार रिचार्ज गर्न सक्नुहुनेछ’, उनले भने ।

हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी कम्पनी भन्दा नेपाल टेलिकमको सेवा भिन्न रहेको उनी बताउँछन् । ‘टेलिकमले सञ्चालनमा ल्याउने भुक्तानी प्रणालीका लागि बैंक खाताको आवश्यक पर्दैन, सिमकार्डमा रहेको मेन ब्यालेन्सबाट नै आवश्यकता अनुसारको सेवा प्रयोग गर्न सकिनेछ’, उनले भने, ‘हाम्रो सेवा सञ्चालनमा आएपछि मोबाइलमा रहेको रकमबाट पसलमा गएर सामान खरिद गर्नदेखि विद्युतको रकम समेत भुक्तानी गर्न सहज हुनेछ ।’

नेपाल राष्ट्र बैंकले गत साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति पाएपछि टेलिकमले सहायक कम्पनीका रुपमा डिजिटल पेमेन्ट कम्पनी स्थापना गरेको थियो ।

उक्त डिजिटल पेमेन्ट कम्पनीमा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको छ ।