पेट्रोलियम पदार्थकाे मुल्यवृद्धिमा आयल निगमकाे भूमिका हुँदैन : प्रवन्ध निर्देशक पाैडेल

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ फागुन ।

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थकाे मुल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । शुक्रबार पत्रकारसँग कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताउनुभएको हो ।

आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण श्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबड गराउने बताउनुभयो । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने बताउनुभयो ।

आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रो कस्टिङमा स्रोत हाम्रो कहिल्यै महंगो छैन । हामीले जुन प्राइसमा किन्छौ त्यो महंगो हालेर हामीले किनेको छैनौं त्यो हामी सबैले बुझिदिनुपर्छ । निगमका खर्च, कर्मचारी खर्चहरु आउँछन्, त्यो चिजपनि आजको दिनसम्म पेट्रोलियम पदार्थ बिक्री गर्नै पर्दैन निगमलाई । निगमको अन्य स्रोतबाट पनि पुग्छ । त्यो चिजले गर्दा पेट्रोलियम पदार्थको मूल्यमा कुनैपनि असर आउँदैन । यो मूल्य बढ्नमा सरकारको, निगमको कुनैपनि ठूलो भूमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ ।’

आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि उहाँले बताउनुभयो । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो मूल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनैपनि पोइन्टमा आएर चाहिँ ठूलो लेभलको मूल्य समायोजन गर्ने परिस्थिति हुन्छ ।’

हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसको मूल्य १४ सय रुपैँया कायम गरेको छ ।