माधव नेपाल पार्टी छोडेर ‘पाटी’मा बस्न गएपछि काम गर्न सुरु भयो : प्रधानमन्त्री ओली

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २१ माघ ।

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका कारण लामो समय भूमि व्यवस्था र सुकुम्बासी समस्याको समाधान गर्न नपाएको जिकिर गरेका छन् । बुधबार राजधानीमा आयोजित भूमिहीन सुकुम्बासीको कार्यक्रममा उनले आफू अघिल्लोपटक प्रधानमन्त्री हुँदा गठित भूमि व्यवस्था आयोगलाई नेपालले काम गर्न नदिएको आरोप लगाए ।

भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरुको मुख्य नेता नेपाल भएको उनको भनाइ थियो । उनले पुनः आयोग गठन गरेको बताउँदै भने, “पार्टी छोडेर माधव नेपाल पाटीमा गएपछि बल्ल आयोग पूरा भो र काम गर्न सुरु भो ।’’ उनले नेताहरु माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले जुनसुकै विषयमा छलफल गर्नुपर्ने भन्दै काम गर्न नदिएको आरोप लगाए । “उनीहरुले अहिले पार्टी छाडे । उनीहरुको पाटीको बास हुन थालेपछि आयोग बन्यो। । अब काम गर्छ,’’ उनले भने ।

नेकपा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालप्रति कटाक्ष गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले के कारणका लागि नेपाल बन्द ? भन्दै प्रश्न गरे । “नेपाल बन्द अरे ! जनताले के बिगारे र बन्द ? जनताई दुःख दिन किन बन्द ? पार्टी छोडेर पाटीमा आफू लाग्छन् अनि जनतालाई दुःख दिन्छन्,’’ ओलीले भने । उनले प्रचण्ड–नेपाल पार्टीबाट किनारा लागेको भन्दै पार्टीमा शुद्धीकरण भएको बताए ।