पाइला पाइलामा अवरोध भएपछि ताजा जनादेश लिने निर्णय गरेँः प्रधानमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ पुष ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । बिघटित प्रतिनिधिसभाका सदस्यहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको वताए ।

विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरु बिग्रहतिरको बाटोमा अग्रसर भएको बताए ।

‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडी फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् बिघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु प¥यो ।

जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृतिम न्यारेटिभ खडा गर्ने प्रयास भएको पनि वताए ।

‘अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ’ प्रधानमन्त्रीले भने, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।

‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु प¥यो’ प्रधानमन्त्रीले भने, ‘जस्तोसुकै दुश्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।