कांग्रेस महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माको हुन्? यस्तो छ उनको योजना

हाम्रो सन्देश संवाददाता

२२ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले पार्टीमा परिवर्तन, युवा पुस्ताको नेतृत्व र संगठनलाई बलियो बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

शर्माले पार्टीलाई आम नागरिकसँग जोड्दै जनताका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो योजना रहेको बताएका छन्। उनले कांग्रेसलाई देशभरका नागरिकसँग प्रत्यक्ष जोड्ने र पार्टीभित्र संस्थागत सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनले अग्रज नेताहरूको अनुभव र नयाँ पुस्ताको कार्यशैलीलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने धारणा राखेका छन्। पार्टीमा पुस्तान्तरणसँगै अनुभवी नेताहरूको भूमिकालाई समेत सम्मान गर्नुपर्ने उनको भनाइ छ।

डा. शर्मा मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।

महामन्त्री पदका लागि विभिन्न नेताहरू प्रतिस्पर्धामा रहेकाले कांग्रेसको आगामी नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ। शर्माको उम्मेदवारीले पार्टीभित्र संगठन सुधार, जनतासँगको सम्बन्ध र नयाँ नेतृत्वको बहसलाई थप अगाडि बढाएको छ।